काठमाडौँ । लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।
वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका धेरैजसो ठाउँमा जनजीवन प्रभावित भएको हो । मनसुन भित्रिएदेखि अहिलेसम्म बाढी पहिरोको प्रकोपबाट हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् भने ३० जना बेपत्ता भएका छन् ।
लगातारको वर्षाले तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा समेत जनधनको क्षति पुर्याएको छ।
केही ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ।
केही मानिसको मनसुनयन्य विपदमा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ। केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन्।
सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुईरदुई जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक एक जनाको ज्यान गएको छ।
विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन्। अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ।
हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ।
यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो। उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो। नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो।
मनसुनी गतिविधि सक्रिय भएर अहिले पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भइरहेको छ ।