काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कोरोना खोप आउन नसकेको दावी गरेका छन् । कमिसनकै कारण खोप नआएको दावी गर्दै उनले भने–‘यो मैले भनिरहन पर्दैन, निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको बताइसकेका छन् ।’
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने–‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भनेपनि अहिले त्यो नदेखिएको उनले बताए ।
कार्यक्रममा देउवाले प्रधानमन्त्री ओलीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको समेत आरोप लगाएका छन् । तर, ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे ।
देउवाले भने–‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ? मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’
निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए ।
Leave a Reply