काठमाडौँ । संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतको छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन ।
संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन् ।
यसबारे आइतबारको इजलास सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशद्वय केसी र श्रेष्ठले नै छलफल गरेर यो विषय टुंग्याउने भन्दै उठेका थिए। यद्यपि इजलासपछि सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासका पाँच न्यायाधीशहरुको बैठकले यसको निर्क्यौल गर्न सकेन।
यसैबीच आज यसबारे छिनोफानो हुने र मंगलबारदेखि संसद विघटनसम्बन्धी रिटहरुमाथि नियमित सुनुवाइ हुने सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ छन् । गत बिहीबार ९ वटा रिटमा एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए ।
संसद पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा संसद विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरिएको छ।
Leave a Reply