काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओल िआफूलाई विश्वासको मत दिन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेपनि उनी रित्तो हात फर्किएका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेपछि उनी रित्तो हात बालुवाटार फर्केका हुन् ।
देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर, देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।
छलफलमा ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेसले जनाएको छ । अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको रहेको बताउँदै सहमहामन्त्री प्रकाशशरण महतले लोकतन्त्र र लोकतान्त्रिक संस्था मजबुत पार्ने कुरामा काँग्रेस सधैं तयार रहेको बताए ।
ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।