काठमाडौं । अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाटलाई तिब्र बनाएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । हुनत प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बताएका छन् । यद्यपी उनलाई उनकै पार्टी एमालेबाट पनि सहयोग नहुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभामा पनि असहयोग हुने प्रष्ट भइसकेको छ । ओलीले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा माओवादी केन्द्रबाट एमालेमा प्रवश गरेका रामबहादुर थापा ‘बादल’लाई नेकपा एमालेको तर्फबाट उम्मेदवार बनाउने निर्णय गराएपछि विपक्षी गठबन्धनका तर्फबाट ड.। खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले थापालाई अघि सार्दा नेपाली कांग्रेस, माओवादी केद्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले एमालेको माधव नेपाल पक्षका देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेका हुन्।
मंगलवार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता उपेन्द्र यादव र एमालेका नेता माधवकुमार नेपालबिचको छलफलले देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेसँगै थापाको प्रतिस्पर्धामा देवकोटालाई उम्मेद्वार बनाउने सहमति भएको हो।
यसरी चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री ओली एकाएक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै प्रधानमन्त्री ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।