Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कम्युनिष्टहरुले धर्म संस्कृति मान्दैनन् भन्नु ६० वर्ष पुगेपछि मान्छे मार्छन् भन्नु जस्तै हो : प्रचण्ड

    कम्युनिष्टहरुले धर्म संस्कृति मान्दैनन् भन्नु ६० वर्ष पुगेपछि मान्छे मार्छन् भन्नु जस्तै हो : प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.2K
    SHARES

    चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् ।

    मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् अध्यक्ष प्रचण्डले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन्।



    प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।” यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए।



    यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै प्रचण्डले यसलाई प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।

    कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवद्र्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे ।

    यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उनको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढङ्गले लिनुपर्ने प्रचण्डले बताए।

    माडी चितवनको क्षेत्र नं ३ मा पर्दछ । सोही क्षेत्रबाट प्रचण्ड निर्वाचित भएका हुन्। माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राखिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार