Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्या भट्टराईको क्षेत्रमा पुगेर गगनले भने - नेकपाका नाममा जित्नेलाई जनप्रतिनिधि मान्न सकिन्न

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नाममा जितेर आएका जो कोहीलाई पनि अब जनप्रतिनिधि मान्न नसकिने बताएका छन् ।

शनिबार पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेकपालाई सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाइसकेको भन्दै नेकपाका नाममा जितेकालाई जनप्रतिनिधि मान्न नसकिने बताएका हुन् ।

नेता थापाले भने–‘निवेदकले माग्दै नमागेको विषयमा प्रवेश गरेर अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा फर्काउने फैसला दियो । तर नेकपा मृत्यु घोषणा हुँदा त्यसको विरोध गर्नुपर्नेमा उल्टै एमाले र माओवादी केन्द्र भएकोमा गर्व गर्दै खुसियाली मनाइसकेपछि अब नेकपा रहेन, नेकपाकै मृत्यु भइसकेपछि त्यसका नाममा जितेर आएकाहरूलाई जनप्रतिनिधि मान्न सकिन्न ।’

उनले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको ठाउँ कास्की निर्वाचन क्षेत्र २ लाई उदाहरण दिँदै भने–‘यहाँका जनताले नेकपाको उम्मेदवारलाई भोट हालेका हुन् । अब उपनिर्वाचनमा विजयी भएका जनप्रतिनिधि एमालेको हो कि माओवादीको ?’

त्यसबेला एमाले वा माओवादी भनेर नभई नेकपा भनेर जनताले भोट हालेको बताए । अब जनताले आफ्नो जनप्रतिनिधि पुनः छान्न पाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्त गर्न पनि माओवादी केन्द्र र राजपालाई लिएर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

नेता थापाले ओली प्रवृत्ति भनेको सरकार नभई सत्ता भएको र त्यो सत्ता सरकारबाट फैलिएर अदालतमा, अख्तियारमा, निर्वाचन आयोगमा पुग्न खोजेको आरोप लगाए ।

उनले भने–‘प्रधानमन्त्रीको कुर्सीमा बस्ने पनि मै हुँ, अदालतमा बस्ने पनि मै हुँ, निर्वाचन आयोगमा बस्ने पनि मै हुँ । प्रहरी, सेनाको कुर्सीमा बस्ने पनि मै हुँ, अख्तियारको कुर्सीमा बस्ने पनि मै हुँ भन्ने सोच्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077