Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजीनामा नदिने मुडमा ओली, यस्ता छन् स्थायी कमिटी बैठकका निर्णयहरु

काठमाडौं । संसद पुनःस्थापनापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने संकेत देखाएका छन् ।

आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसदमा हुने बताएसँगै राजीनामा नदिने प्रष्ट भएको हो ।

बैठकमा ओलीले अब संसदभित्रको लडाइँ प्रमुख भएको बताउँदै विपक्षीहरू कसरी आउँछन्, आफूहरुको रणनीति त्यही अनुसारको बन्नुपर्ने र हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्ने पनि धारणा राखेको एक सदस्यले बताए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी समिति बैठकले चार वटा निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

‘कतिपय फैसलाहरू अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन् । तर सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं।’–ओली समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने ।

उनले संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए। त्यस्तै बैठकले देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।

आजको बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए।

संसद विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए।

२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त प्रस्तुत गर्दै ज्ञवालीले भने–‘त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077