Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुम्भनारायणको पिडा - पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन् !

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए ।

प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी चलाएर आउने पैसाले दैनिकी चलाउँदै आएका श्रेष्ठका लागि बिहीबारको बिहान अन्धकार जस्तै बनिदियो ।

आन्दोलनकारीले पेट्रोल छर्केर ट्याक्सी जलाइदिएपछि उनका लागि बिहानको समय पनि अन्धकार रातजस्तै बन्यो । ‘गरिखाने साधन नै जलाइदिए, निकै पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्,’ श्रेष्ठले भने, ‘ट्याक्सी जलाइएको क्षण मैले केही देखिनँ, अन्धकार नै भयो ।’ उनले सर्वसाधारण नागरिकलाई पीडा दिएर गरिने यस्तो आन्दोलनको कुनै अर्थ नभएको बताए । ‘जनतालाई पीडा दिने, दुःख दिने अनि जनताकै लागि आन्दोलन ग-यौं भन्न लाज पनि लाग्नुपर्ने हो,’ श्रेष्ठले आफ्नो पीडा पोख्दै भने ।

श्रेष्ठका अनुसार जलाइएको गाडी उनको साहुको हो । बिहीबार साहुलाई थाहा नदिई गाडी निकालेको र एक दुई ट्रिप गरेपछि मात्रै आन्दोलनकारीले उनको गाडी जलाइदिएका थिए ।‘गोंगबु चोकमा चावहिल जाने हो भन्दै दुई जनाले गाडी रोके । त्यसपछि एक जनाले पेट्रोल छर्किए र अर्काले सलाई कोरेर ओगो लगाइदिए,’ उनले घटना सम्झँदै भने । त्यतिबेला उनी सिल्टबेल्ट बाँधेर गाडीमै बसेका थिए । ‘उनीहरू आगो लगाएर भागे ।

छिटोछिटो सिल्टबेल्ट झिकेर बाहिर निस्केर बाच्न सकें,’ श्रेष्ठले भने । आन्दोलनकारीले उनलाई पनि गाडीभित्रै राखेर आगो लगाइदिएकाले गाडीसँगै आफूलाई पनि जलाउने योजना बनाएको हुन सक्ने उनले बताए । ‘गाडी जल्यो, अब कमाइ पनि बन्द भयो । के खाने भन्ने समस्याले हामी पीडित हुन पुगेका छौं,’ उनले भने । श्रेष्ठका अनुसार उनले बिहीबार बन्द भन्ने थाहै नपाएकाले बिहानै गाडी निकालेका थिए । गोंगबुबाट मानिसहरू थापाथली पु-याएर फेरि गोंगबु फर्केपछि सो घटना घटेको उनले बताए ।

‘रत्नपार्कमा गाडीहरू टन्नै चलेका थिए त्यसैले बन्द छ भन्ने केही सोच्ने र थाहा पाउने अवस्था नै थिएन । अन्यायमा परियो, गाडी जलाउनेलाई कारबाही पनि नहुने भयो,’ उनले भने । उनका अनुसार गाडी जलाउने ती युवा मोटरसाइकल चढेर भागेका थिए ।

‘म सामान्य मजदुर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरू कुनै उपाय छैन,’ उनले भने ।

‘देशका लागि आन्दोलन गरेको भन्नेहरूले म जस्तो गरिब मजदुरको ट्याक्सी जलाएर के पाए ?  उनीहरूलाई कुर्सी पाउनका लागि हामी जस्ताले कहिलेसम्म यस्तो अन्याय र अत्याचार सहने हो ? ’ उनले प्रश्न गरे,आजको राजधानी दैनिकमा खबर छ। ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077