काठमाडौं। मेगा प्लस सहकारीका अध्यक्ष बद्री पोखरेलले सहकारीको रकम अपचलन गर्दै आएको उनीमाथि आरोप लागेको छ । राजधानीको बालाजुस्थित गंगाहल नजिकै कार्यालय रहेको छ, मेगा प्लस सहकारीको ।
मेगा टेलिभिजन, मेगा केवल नेटवर्क र मेगा सहकारी गरि तीनै संस्थाको अध्यक्ष रहेका पोखरेलले सहकारीको रकम आफ्नै अध्यक्षतमा रहेको अन्य संस्थाबाट मनोमानी रुपमा निकाल्ने गरेको पाइएको छ ।
पोखरेलले सहकारीको रकम ठगी अभियोगमा जेल परेका वेभ सर्फरका अध्यक्ष सुमन क्षेत्रीलाई जेलबाट निकाल्न समेत प्रयोग गरेको खुलाशा भएको छ ।
दिबेश लोहनी अपराध महाशाखाको प्रमुख र बसन्त लामा काठमाडौंको प्रमुख छँदा ठगी अभियोगमा जेल परेका वेभ सर्फरका मालिक सुमन क्षेत्रीका दाजु भाईलाई जेलबाट निकाल्न त्यतिबेला नै ८५ लाख रुपैयाँ पोखरेलले सहकारीबाट निकालेको खुलेको छ।
मेगा केवलमा वेभसर्फरको लगानीकर्ता कम्पनी वोर्डकमले ५० प्रतिशत लगानी गरेको हुँदा त्यो रकम त्यही ऋणबाट कटाइएको अहिले आएर खुलेको हो।
लेखा परिक्षण प्रतिवेदन अनुसार पोखरेल आफै अध्यक्ष रहेको सहकारी मेगा प्लसबाट आफै अध्यक्ष प्रबन्ध सञ्चालक रहेको मेगा केवल नेटको नाममा एक करोडभन्दा बढी ऋण निकालिएको छ ।
सहकारी विभागको नियम अनुसार आफू संलग्न भएकै कम्पनीको नाममा आफू नै अध्यक्ष रहेको सहकारी तथा वित्तिय संस्थबाट ऋण निकाल्नु नै ऋण अपचलन हो ।
यसरी ऋण निकाल्ने सहकारी विरुद्ध लिखित उजुरी आए विभागले कारबाही गर्न सक्छ ।
सहकारीका अध्यक्ष पोखरेलले टेलिभिजन, सहकारीमा आफू र आफ्नो स्टाफले खाएको खाजा समेत मेगा केवलको नाममा बिल तिराउने गरेको शेयरधनी श्याम प्रसाद पौडेलको आरोप छ । स्रोतका अनुसार सो संस्थाको लेखा अधिकृतमा पोखरेलले आफ्नै श्रीमती कल्पना सिंखडालाई राखेका छन्।
त्यस्तै,लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था कपनका अध्यक्ष छबिरमण आचार्यलाई तलब खाने गरी पोखरेलले मेगा प्लस सहकारीको म्यानेजर (संस्थापक संचालक ) बनाएका छन्।
सबैतिर सेटिङ मिलाउनका लागि तथा आफ्नै अनुकुल अनुसार अन्य संस्थाहरुमा मनोमानी रुपमा ऋण प्रवाह गरी पोखरेलले मनपरी गरेको खुलेको छ।
सहकारीले पोखरेल नै अध्यक्ष रहेको मेगा केवललाई नै २१ प्रतिशत ब्याज र ३ प्रतिशत सेवा शुल्कमा ऋण लगाएको छ ।
‘मेगा केवलसँग २१ प्रतिशतको दरले ब्याज खाइरहेको छ भने सोही रुपमा हिसाब गर्दा केवलमा मात्रै उनले ३० देखि ३१ लाख रुपैयाँ अपचलन गरेको छ,’ पौडेलले भने ।
लेखा परिक्षण प्रतिवेदन अनुसार पोखरेलले सहकारीसँग कर्जा उपयोग पुष्टि नहुने कागजात पेश गरेर मेगा केवलको एकै नाममा पटक ४६ लाख रुपैयाँ निकालेका छन् ।
उनले आफै अध्यक्ष रहेको टेलिभिजनको नाममा समेत करोडौं ऋण अपचलन गरेको स्रोतले जानकारी दियो ।
सहकारीबाट पोखरेलले सन् २०१७ जुन १४ मा लिएको मेगा केवलको नाममा लिएको ११ लाख रुपैयाँ ऋण कम्पनीको नाममा रहेको मेगा सहकारीकै खातामा समेत जम्मा भएको छैन । उनले यो रकम आफूखुसी प्रयोग गरेको लेखा परिक्षण प्रतिवेदनमै देखिन्छ ।
अर्कोतिर पोखरेलमाथि आफ्नै शेयर सदस्यमाथि अन्याय गरेको आरोप लागेको छ । मेगा केवल नेटवर्कमा आफ्नो कम्पनी मर्ज गरे बापतको शेयर रकम नदिएर आफूलाई लामो समयसम्म पोखरेलले झुलाएको पीडित शेयरधनी श्याम प्रसाद पौडेलको गुनासो छ ।
शेयर रकम फिर्ता गरिपाउँ भन्दै उनले गतवर्ष २०७६ वैशाख १६ मै मेगा केवल नेट प्रालीको सञ्चालक समितिमा उजुरी दिएका थिए । तर, पटकपटक उजुरी दिएपनि सुनुवाई नभएपछि गत पुस ६ गते महानगरीय प्रहरी बृत बालाजुमा उजुरी दिए ।
अध्यक्ष पोखरेलले आफ्नो शेयरबापतको ३० लाख रुपैयाँ, तलब सञ्चयकोष लगायत गरि ५ लाख रुपैयाँ नदिएपछि प्रहरीमा उजुरी दिएको पौडेलले बताए । उजुरीमा उनले आफूले शेयर बापतको रकम र तलब ज्याला फिर्ता पाउनुपर्ने माग गरेका थिए ।
प्रहरीले उजुरी परेपछि छलफलका लागि पाखेरेललाई बोलाएको थियो । तर, उनले आफू टेलिभिजनको मालिक रहेको र भोली छलफलमा आउँछु भन्दै प्रहरी कार्यालयबाट हिँडेका थिए ।
पौडेलले आफूलाई अध्यक्ष पोखरेलले जबरजस्ती कम्पनीबाट निकालेको समेत बताए ।
पौडेलले आफ्नो नाममा रहेको नागार्जुन केवल नेटवर्कलाई मेगा केवल नेट प्रालीसँग मर्ज गराएका थिए । ‘मेगा केवल नेटको २५ सय ग्राहक थिए । मेरो कम्पनीको भन्दा भ्यालु नै थिएन । तैपनि मर्ज गराएँ,’ उनले भने,‘ तर आज मैले मेरो कम्पनि नै सुम्पिदिएँ । त्यो कम्पनिमा मेरो श्रीमती, छोरा र छोरीको समेत पसिना मिसिएको छ ।’
पौडेलका अनुसार आन्तरिक लेखा परिक्षण प्रतिवेदन अनुसार उनले ७५ लाख रुपैयाँभन्दा बढी रकम मेगा केवल नेट प्रालीसँग पाउनु पर्नेछ । तर, उनले साथी भाईकै नाताले ३० लाख भन्दाबढी दाबी गरेका छैनन् । यस सम्बन्धमा पोखरेलसँग प्रतिक्रिया लिनखोज्दा सम्पर्क हुन सकेन।
Leave a Reply