जाजरकोट । अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी गरेका छन् ।
समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा आगजनी गरिएकाे हो ।
सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अपरिचित समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले बताए ।
गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।