काठमाडौं । प्रहरीले बारामा १३ राउण्ड हवाई फायर गरेको २४ घण्टा वित्न नपाउँदै चीतवनमा पनि हवाइ फायर भएको छ ।
निषेधाज्ञा गरिएको समयमा चितवनको राप्ती नगरपालिकाको पिप्लेमा ढुंगाको निहुँमा विवाद हुँदा भीड हटाउनका लागि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ ।
निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको हुँदा भीड हटाउनका लागि हवाई फायर गर्नु परेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी गराए ।
स्थानीयबासीका अनुसार आइतबार एक महिलाले पूजाको लागि भन्दै त्यहाँ रहेको एउटा ढुंगा लगेको निहुँमा स्थानीयहरूले आफ्नो ठाउँको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भीडभाड गरेका थिए।
निषेधाज्ञाको समयमा भीड गरेको र हटाउने प्रयास गर्दा वादविवाद भएपछि भीडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
यसअघि आजै कुलोमा माछा मारेको र डुबानको विषयमा भएको दुई पक्षबीचको झडपलाई साम्य पार्न प्रहरीले बारामा १३ राउण्ड हवाई फायर गरेको थियो ।
बारा प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको थियो ।
Leave a Reply