Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कहिले हुँदैछन् प्रधानमन्त्री ओली डिस्चार्ज ?

    कहिले हुँदैछन् प्रधानमन्त्री ओली डिस्चार्ज ?

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले केही दिनभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् । फागुन १९ गते अस्पताल भर्ना भइ त्यसकाे दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज हुने बताइएकाे छ।

    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए । ‘प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । अहिले नै यही दिन त नभनौं तर बिहीबार वा शुक्रबारसम्ममा उहाँ बालुवाटार फर्कन सक्नुहुन्छ कि भन्ने लागेको छ’, निर्देशक खड्गाले भने, ‘मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा यसबारेमा हामी छलफल गरेर निर्णयमा पुग्छौं । अप्रेशन भएको बढीमा १० दिनभित्र उहाँलाई बालुवाटार फर्काउन सकिन्छ कि जस्तो लागेको छ ।’



    प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । ‘उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्’, डा. ज्ञवालीले भनेका छन् ।



    प्रधानमन्त्री ओलीको यो प्रत्यारोपण दोस्रो हो । यससँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् । चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । ‘अस्पतालको कोठाभित्रै हिँडडुल गर्न थाल्नुभएको छ, त्यो क्रम विस्तारै बढ्दैछ’कार्यकारी निर्देशक खड्गाले रातोपाटीसँग भने, ‘संक्रमणको जोखिम घटाउन प्रधानमन्त्रीलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ ।’

    प्रधानमन्त्री ओली सामान्य हिँडडुल र ठोस पदार्थ खान थालेपछि आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुसँग आग्रह गर्दै आएका छन् । तर चिकित्सकहरुका अनुसार प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई केही महिना आरामको जरुरत पर्छ । ‘सामान्यतया दुई तीन महिना आराम जरुरी हुन्छ । पहिलो पटक प्रत्यारोपण गर्दाको अवस्था जस्तै दोस्रो पटक पनि त्यति नै समय आराम गर्न जरुरी छ’, प्रत्यारोपणमा संलग्न अर्का एक चिकित्सकको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार