Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरीमा हतियार खरिदका लागि गृहमा ठेकेदारको चलखेल

    प्रहरीमा हतियार खरिदका लागि गृहमा ठेकेदारको चलखेल

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.9K
    SHARES

    काठमाडौं । नयाँ आर्थिक बर्षमा प्रहरीमा अर्बौंको गैरघातक र घातक हतियार खरिद गर्नका लागि एक ठेकेदारले चलखेल बढाएका छन् ।
    पेस्तोल, सर्टगन, अटोमेटिक हतियार, टियर ग्याँस, अश्रुग्यास, रबरका गोली र बडी प्रोटेक्टर खरिदका लागि आफैले बजेट बनाउन लगाएर ठेकेदार दिपक भट्टले गृह मन्त्रालयमा सक्रियता बढाएको गृह स्रोत बताउँछ ।

    नयाँ आर्थिक वर्षमा हतियार खरिद गर्नका लागि अहिलेदेखि नै भट्टले चलखेल शुरु गरेका हुन् । केही समय अघि उनी प्रहरीका लागि आवश्यक हतियार खरिद र अन्य सामानको खरिद गर्ने विषयमा छलफल गर्न नेकपाका एक नेतालाई लिएर गृह मन्त्रालय पुगेपछि उनको चलखेल बाहिर आएको हो ।



    नेकपाका प्रभावशाली नेता बामदेव गौतमसँग निकट रहेका ठेकेदार भट्टले हतियार खरिदकै प्रक्रिया अगाडि बढाउने विषयमा गृहमन्त्री पुत्र प्रतिक थापासँग पनि पटक–पटक मिटिङ बसिसकेको स्रोत बताउँछ ।
    प्रहरीमा वाटर क्यानन(पानीको फोहोरा फाल्ने मेसिन) खरिद गरिसकेका भट्टले दुई वटा मेसिनको झण्डै १४ करोड भुक्तानी अझै पाएका छैनन् । उक्त भुक्तानी तथा रोकिएका ठेक्काका काम अगाडि बढाउन उनले प्रवन्ध शाखामा सेटिङ मिलाउन थालिसकेका छन् । नेपाल प्रहरीको प्रबन्ध शाखा आकर्षक मानिन्छ ।
    प्रबन्धमा ठेकेदारहरुको बाक्लो आउजाउ हुने गर्दछ । प्रबन्धले ठेक्कापट्टाकै काम गर्दछ । स्रोतका अनुसार भट्टलाई टेण्डरमा भाग लिनका लागि के कस्ता कागजात चाहिन्छन् ती सबै उपलब्ध गराउने उनका नजिकका डिएसपी बलराम खत्रीलाई प्रवन्ध शाखा लैजान आईजीपी ठाकुर ज्ञवालीलाई दबाब दिन थालेका छन् ।
    भट्टले प्रहरीमा सामान आपूर्ति गर्ने नयाँ ठेकेदारहरुको विवरण दिनेदेखि स्पेसिफिकेसन मिलाउनका लागि सेट नै बनाउन लागेको स्रोत बताउँछ ।



    उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा भट्टले जर्मनस्थित एक कम्पनीबाट ३५० डलरमा प्राप्त हुने एउटा हतियारको परल मूल्य बढाई नेपाल प्रहरीमा ७९८ डलरमा दिने प्रस्ताव गरेका थिए । त्यतिबेला प्रस्ताव गरिएको मूल्य र हतियारको परिमाण हिसाब गर्दा कमिसन मात्रै १ अर्ब आउने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

    त्यतिखेर अर्थ मन्त्रालयले ६ अर्बको हतियार खरिदका लागि भन्दै डेढ अर्ब निकासा गरेको थियो । उक्त प्रस्तावलाई तत्कालिन गृहमन्त्री बामदेव गौतम र तत्कालिन आईजीपी अर्यालले सदर गरे पनि प्रशासनका तत्कालिन एआईजी राजेन्द्रसिंह भण्डारीले भने अस्वीकृत गरेपछि भट्टको योजना फेल खाएको थियो । भट्टको योजना असफल भएपछि हतियार खरिदका लागि निकासा भएको उक्त बजेट फ्रिज भएको थियो ।

    सोही प्रस्तावलाई भट्टले आगामी आर्थिक वर्षमा पास गराउन अर्थबाट बजेट निकासा गराउनेदेखि प्रहरी भित्रको सबै काम आफैले गर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव महेश्वर न्यौपानेलाई कन्भिन्स गराउन खोजिरहेका छन् ।

    आईजीपी ज्ञवाली पनि पूर्व गृहमन्त्री समेत रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतम निकट रहेको हुँदा भट्टले अब प्रहरीको ठेक्कामा एकछत्र राज गर्न सक्ने देखिएको छ ।
    यस अघि पनि उनले प्रधानमन्त्री कार्यालयको दबाबमा प्रहरीभित्र ठूलो खरिदको काम गरिसकेका छन् । ठेकेदार भट्टले अहिले पनि महँगो मूल्य राखेर जर्मनीबाट हतियार किन्ने योजना बनाएका छन् ।
    हतियारमा धेरै कमिसन आउने हुँदा भट्टले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म चलखेल गरिरहेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी बताउँछन् । भट्टसँग प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार राजेश बज्राचार्यको पनि राम्रो सम्बन्ध रहेको हुँदा आगामी आर्थिक वर्षमा भट्ट उक्त योजना सफल गराउने दाउमा छन् ।
    प्रहरीले भीड तितरवितर बनाउन वाटर क्यानन प्रयोग गर्दै आएको छ । ठेकेदार भट्टले नै प्रहरीमा महंगो मूल्यमा सातवटा वाटर क्यानन खरिद गरिसकेका छन् ।
    भट्टले प्रति वाटर क्यानन झण्डै सात करोडमा चीनबाट खरिद गरी प्रहरीलाई उपलब्ध गराएका थिए । जुन बजार भाउ भन्दा निकै महंगो हो । सातवटै प्रदेशमा कम्तीमा एक–एक वटा वाटर क्यानन पु-याउने लक्ष्यसहित प्रहरी प्रधान कार्यालयले सातवटा वाटर क्यानन खरिद गरेको थियो ।

    नेपालमा खरिद हुने हतियारसम्बन्धी ठेक्कामा भट्टकै एकछत्र राज रहेको छ । भट्ट जलविद्युत आयोजनादेखि अन्य ठूला ठेक्कापट्टामा समेत सक्रिय रहँदै आएका छन् । उनी कालो सूचीमा रहेको चिनियाँ कम्पनी गेजुवाका नेपाली एजेन्ट समेत हुन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार