Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, महानगरपालिका-३२ जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भई भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङ समेत २ जनालाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारको लागि बिर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ भने स्कुटरमा सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कडेललाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारका लागि केएमसी अस्पतालमा सिनामंगल रिफर गरिएको छ ।



    प्युठान, स्वर्गद्धारी नगरपालिका-२ स्थित सडकमा भे।१ च १७१५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।



    बर्दिया, बाँसगढी नगरपालिका-५ खनाल चोकस्थित सडकमा ना.५६ प ३१९७ नम्बरको मोटरसाइकल भे.१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ दैलेखी चोकस्थित सडकमा भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय यम बहादुर बिक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र बिक रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही नगरपालिका-८ बस्ने तुल बहादुर रजालीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नेपालगंज नर्सिंङ होम बाँकेतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
    स्याङ्जा, कालिगण्डकी गाउँपालिका-१ हटियास्थित सडकमा लु.४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका-७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिन्धुली, कमलामाई नगरपालिका-१३ रुचानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय बृषलाल माझीको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ ।

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार