Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • चितवनमा एमाले महाधिवेशनको रौनक: नेताहरु कोही उडेर सरर, कोही गुडेर….

    चितवनमा एमाले महाधिवेशनको रौनक: नेताहरु कोही उडेर सरर, कोही गुडेर….

    निर्मल लामिछाने
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.5K
    SHARES

    निर्मल लामिछाने / चितवन । यतिबेला चितवनको भरतपुर-नारायणगढ क्षेत्रदेखि पूर्वीचितवनको सौराहासम्म नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको ठूलो रौनक छाएको छ।

    भोलि मङ्सिर १० गतेदेखि सुरु हुन लागेको पार्टीको महाधिवेशनका लागि एमालेका प्रतिनिधि तथा नेता/कार्यकर्ताहरु चितवन आउने क्रम जारी रहेसँगै महाधिवेशनको रौनक छाएको हो।



    महाधिवेशनका लागि भरतपुर वरपरका सडक किनारदेखि फुटपाथका पसलहरुमा पनि पार्टीको झण्डा झकिझकाउ गरिएको छ । उता नारायणी किनारमा  बनिरहेको मन्च पनि तयारी भइसकेको बताइएको छ ।



    जिल्लामा बुधबारदेखि नेताहरु आउने क्रम बढेको थियो भने बिहीबार पनि सोही क्रमले निरन्तरता पाइरहेको छ । विभिन्न जिल्लादेखि केन्द्रसम्म रहेका नेताहरु कोही हवाई मार्ग त कोही सडक मार्गमार्फत चितवन भित्रिरहेका छन।

    बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली श्रीमती राधिका शाक्यसँगै बुद्ध एयरको जहाजबाट भरतपुर विमानस्थल आइपुगेका थिए। ओलीभन्दा अघि नेताहरु सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादलहरु भरतपुर आएका थिए भने पाण्डे र बादलअघि योगेश भट्टराई, कृष्णभक्त पोखरेललगायतका नेताहरु आइसकेका थिए।

    यस्तै, अध्यक्ष ओलीनिकट मानिने नेताहरू बिष्णु पौडेल र शंकर पोखरेल पनि आजै हवाई मार्ग हुँदै चितवन आउने कार्यक्रम रहेको उनीहरु निकट नेताहरुले जनाएका छन्।

    यस्तै, महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावल सडक मार्ग (गाडी)मा चितवन आउँदै छन् । उपाध्यक्ष रावल अहिले बाटोमै रहेको उनीनिकट नेताहरुले बताएका छन् । उनको स्वागतका लागि कार्यकर्ताहरु चितवन छिर्ने प्रत्येक चोकचोकमा फुलमालासहित उपस्थित भएका छन्

    यस्तै, एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमूख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि गाडीमै चितवन आउने भएकी छिन्। स्रोतका अनुसार शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य अमृत बोहोरा र रघुजी पन्त एउटै गाडीमा चढेर चितवन आउदै छन्।

    एमाले उपमहासचिव घनश्याम भुषालले पनि गाडीमै चितवन आउन लागेका छन्। एमालेले भोलि हुने उद्घाटन कार्यक्रममा पाँच लाख मानिस सहभागी हुने दाबी गरेको छ। देशभरिबाट कार्यकर्ता ओसार्न ४ हजार बढी बस परिचालन हुने महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ।

    यता जिल्लामा नेताहरु आउनेक्रम बढेपछि विमानस्थल वरपर प्रहरीहरुको बाक्लो उपस्थिति रहेको छ भने प्रहरी प्रशासनले सुरक्षा व्यबस्था कडा पारेको जनाएको छ । एमाले महाधिवेशनकै लागि भनेर गृह मन्त्रालयले एआईजी सहकुल थापालाई सुरक्षा हेर्ने जिम्मा दिएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी थापासंगै बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी)हरु पनि सुरक्षामा खटिने छन् । यस्तै चितवन प्रशासनले उद्घाटनका दिन भोलि शुक्रबार दिनभर उक्त क्षेत्रमा ‘नो भेकल’को आदेश जारी गरेको छ भने महाधिवेशनमा आउने सवारी व्यबस्थापनका लागि थप १०० जना ट्राफिक प्रहरीहरु खटिने भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार