काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्देलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अरु ६ पेशागत र नागरिक संस्थाले साथ दिएका छन् ।
जसमा नेपाल बार एशोसिएसनसहित नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेका हुन् ।
यसअघि मंगलबार ७ संस्थाहरुले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै आज बालुवाटारसम्म मार्चपास गरिने जानकारी दिएको थियो।
उनीहरुले आज दिउँसो २ बजे सर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने जनाएका छन् ।
‘न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौँ । तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौं ।’ मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुँदै आएका छन्।
Leave a Reply