Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ‘गुन्डानाइके’ गिरीलाई रातारात मोरङ कारागार लगियो

    ‘गुन्डानाइके’ गिरीलाई रातारात मोरङ कारागार लगियो

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । ‘गुन्डानाइके’ अभिषेक गिरीलाई रातारात मोरङ कारागार लगिएको छ। उनलाई बिहीबर बिहान ४ बजे मोरङ कारागार पु¥याइएको हो।

    गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। गिरीलाई मोरङ कारागार लानका लागि चौकीदारसहित ८ जना कैदीलाई बुधबार सिन्धुली कारागार सरुवा गरिएको थियो।



    मोरङ कारागारका कैदीबन्दीलाई सार्न खोज्दा तनावको स्थिति उत्पन्न भएको थियो। ठूलो संख्यामा परिचालित प्रहरीले ती कैदीबन्दीहरुलाई कारागारबाट निकाल्दै गर्दै अन्य कैदीबन्दीले विरोध गरेका थिए।



    आन्दोलनमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएपछि सरुवामा परेकाहरुलाई बाहिर निकाल्न गएको प्रहरी टोली राति ८ बजेतिर फिर्ता भएको थियो। त्यसको दुई घण्टापछि पुनः पुगेको प्रहरी टोलीले सरुवामा परेकामध्ये चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ।

    विभागले चौकीदार कामत र सिटी नाइके परियारसहित बुधबार वडा नाइके रितेश कामतसहित मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलसमेतका कैदीको सरुवा गरेको थियो।

    सरुवा गरिएका अन्य ६ जना भने मोरङ कारागारमै छन्। उनीहरुलाई भने कहिले सिन्धुली लगिन्छ भन्ने यकिन नभएको कारागारले जनाएको छ। गिरी विराटनगरकै बासिन्दा हुन्।

    गिरीले नेपाली कांग्रेसमा आवद्ध भएर राजनैतिक संरक्षण एवं आवरणमा अपराधिक गतिविधी सञ्चालन गर्दै आएका थिए। उनलाई हाल सप्तरीबाट मोरङ ल्याइएको हो। त्यसअघि उनलाई काठमाडौंको डिल्ली बजार कारागारमा राखिएको थियो। डिल्ली बजार लैजानुअघि मोरङ कारागारकै चौकीदार रहेका उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको थियो।

    मोरङमा रहँदा गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरेको पाइएपछि उनलाई डिल्ली बजार लगिएको हो। तर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै कांग्रेस नेताको दबाब र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा भदौ १७ गते गिरीको सरुवा मोरङमा भएको थियो।

    उनलाई पुनः चौकीदार बनाएर ल्याउनकै लागि मोरङ कारागारका चौकीदार नवीन राईलाई असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइयो।

    तर कैन्दीबन्दी तथा उनीहरुका आफन्तको अवरोध, विरोध र आन्दोलनका कारण कात्तिक १६ गते ‘सुटुक्क’ ल्याइए पनि गिरीले मोरङ कारागार प्रवेश पाउन सकेनन्। त्यसपछि उनलाई सप्तरी कारागार लगिएको थियो।

    गिरीकै पक्ष लागेर झडपको नेतृत्व गर्दै चौकीदारको जिम्मेवारी लिन सफल भएका कामत त्यसपछि भने गिरीको विपक्षमा उभिएका थिए। विरोधमा देखिएर मोरङ ल्याउन अवरोध खडा गरेपछि उनीसहित ८ जनाको सरुवा गरेर गिरीका लागि मोरङ कारागारमा सहज वातावरण बनाइएको हो। कारागारभित्रका अधिकांश कैदीबन्दी गिरीको विपक्षमा छन्।

    गिरीका लागि बाटो फराकिलो बनाउनकै लागि उनकै ‘सेटिङ’मा महेन्द्रसिंह खड्कालाई जेलर बनाएर सरकारले मोरङ पठाएको बताइन्छ। नेपाल सरकारका उपसचिव खड्का तीन दिनअघि मात्रै कारागार हाजिर भएका हुन्। त्यसअघि कारागारमा निमित्त जेलर नायव सुब्बा रामप्रसाद पोखरेल थिए। सरकारकै नेतृत्वमा गिरीलाई मोरङ सारिएपछि सरकारको आलोचना भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार