Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • एमाले महाधिवेशन: राजमार्गको सरसफाइ, स्वागतद्वार र घडाको व्यवस्था गर्न निर्देशन

    एमाले महाधिवेशन: राजमार्गको सरसफाइ, स्वागतद्वार र घडाको व्यवस्था गर्न निर्देशन

    महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमाले चितवनले पार्टीको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी भइरहेको जनाएको छ ।

    जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालिएको बताइएको छ।



    एमाले जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ ।



    यसैगरी पेशागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजारको हाराहारीमा सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा नेकपा (एमाले)का सङ्गठित सदस्य २५ हजार छन् । रावलले एक सङ्गठित सदस्यले कम्तीमा चारजना ल्याउने गरी एक लाख सहभागी हुने आँकलन गरिएको जानकारी दिइन् ।

    यसगरी महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट पनि पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ । चितवननबाट जनपरिचालनको नेतृत्व गरेका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ ।

    यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणापत्र वितरण र प्रचार सामग्री घरघरमा पुर्याइने छ । पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।

    आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । विद्युतीय उपकरणबाट मतदान गरिने बताइएकोे छ । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार