एजेन्सी । चीनले तिब्बतमाथि यस्तो समयमा आफ्नो पकड बलियो बनाएको छ, जब पश्चिमी देशहरूले उसमाथि बढी ध्यान दिइरहेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको राष्ट्रपतिका हैसियतमा जुलाईमा राजनीतिक रूपमा समस्याग्रस्त तिब्बतको भ्रमण गरेका थिए। त्यसयता चीनले आफ्नो सैन्य उपस्थिति र पूर्वाधारमा लगानी बढाएको छ।
चीनको सेनाले यस क्षेत्रमा ठूलो परिमाणमा सैन्य अभ्यास गरेको छ र चीनको सरकारी मिडियाले यसको अंग्रेजी भाषाको नाम मेटाउन खोजेको छ।
सी जिनपिङको भ्रमणपछि चीनले यो स्वशासित क्षेत्रमाथि आफ्नो नियन्त्रण कडा गरिरहेको देखिन्छ ।
के भएको हो ?
सी जिनपिङले जुलाईमा राष्ट्रपतिको रूपमा तिब्बतको भ्रमण गरेका थिए। विगत तीन दशकमा कुनै चिनियाँ नेताले यस क्षेत्रमा गरेको यो पहिलो भ्रमण हो।
यस भ्रमण पछि सेप्टेम्बरमा चीनको संघीय सरकारले यहाँ २०२१–२०२५ को बीचमा २ सय ६० अर्ब युआन लगानी गर्ने घाणा गरेको थियो।
त्यसको अघिल्लो महिना चीनको सबैभन्दा ठूलो वैधानिक संस्था नेशनल पिपुल्स कांग्रेस (एनपीसी) को समितिले सीमा क्षेत्रमा सुरक्षा सुदृढ गर्न नयाँ कानून पारित गर्यो।
चीनको यो कदम महत्वपूर्ण छ किनभने यो यस्तो समयमा आएको हो जब हिमालय क्षेत्रमा भारत–चीन सीमालाई लिएर दुई देशबीच तनाव बढेको छ ।
केही दिन अगाडि चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्समा प्रकाशित एउटा लेखमा चीनले सीमा क्षेत्रमा समृद्ध गाउँको विकास गरिरहेको बताइएको थियो ।
यी गाउँले सीमा सुरक्षामा सहयोग गरिरहेको लेखमा उल्लेख छ । यस प्रतिवेदनमा भारत र भुटानसँग सीमा जोडिएको तिब्बत क्षेत्रका गाउँहरूको विकासको विवरण दिइएको थियो।
भारत र भुटान दुई देश हुन् जसको चीनसँग सीमा विवाद अझै कायमै छ । सेप्टेम्बरमा चिनियाँ सेना पीएलएले तिब्बतमा उच्च उचाइमा लडाइँको अभ्यास गरेको थियो। नोभेम्बर ८ मा चीनले भारतले लद्दाखमा गरेको सैन्य अभ्यासको जवाफमा उसको सेनाले तिब्बतको पश्चिमी पठारमा धेरै सैन्य अभ्यासहरू पनि गरेको बताएको थियो ।
त्यसको भोलिपल्ट ग्लोबल टाइम्सको रिपोर्टमा चीनले जाडो आउनुअघि उच्च उचाइमा सैनिकहरूलाई राहत उपलब्ध गराउन पूर्वाधार प्रणालीलाई बलियो बनाएको रिपोर्ट प्रकाशित भएको थियो ।
तिब्बतमा आफ्नो कामलाई विश्वसामु प्रस्तुत गर्न चिनियाँ विदेश मन्त्रालयले ‘चीनको नयाँ यात्राः खुशीयाली र नयाँ तिब्बतको विकासका लागि नयाँ अध्याय’ नामक कार्यक्रम पनि आयोजना गरेको छ।
कार्यक्रममा विदेशका कूटनीतिज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ कम्युनिष्ट पार्टीको शासनकालमा तिब्बतको विकासको नयाँ रेकर्ड भएको बताए।
यस्तो किन भइरहेको छ ?
तिब्बतमा चीनको नियन्त्रण भएको ७० वर्ष पूरा भएको छ । सीसीपीले २३ मे १९५१ मा तिब्बतलाई नियन्त्रणमा लिएको थियो। सीसीपी यस वर्षको उत्सव मनाउँदै छ।
यसै क्रममा सी चिनपिङको भ्रमणको केही दिनपछि चीनका प्रमुख राजनीतिक सल्लाहकार वाङ याङले बेइजिङबाट टोलीसहित ल्हासाको भ्रमण गरेका थिए।
उनले तिब्बतको मामिलामा चीनमाथि औंला उठाउने अधिकार विश्वमा कसैलाई नभएको चेतावनी दिए। उनले यस क्षेत्रमा चिनियाँ भाषा पढाउनमा पनि जोड दिनुपर्ने बताए ।
छिमेकी भारतसँग तनाव बढेको बेला चीनले तिब्बतमाथि आफ्नो नियन्त्रण कडा गरिरहेको छ र पश्चिमा राष्ट्रहरूले पनि यस क्षेत्रमा ध्यान केन्द्रित गरिरहेका छन् ।
मे महिनामा अमेरिकाले पहिलो पटक भारतको धर्मशालाबाट सञ्चालित तिब्बतको निर्वासित सरकारको चुनावलाई मान्यता दियो। जुनमा अमेरिका र युरोपेली संघले तिब्बतमा कथित मानवअधिकार उल्लङ्घनबारे संयुक्त प्रस्ताव पारित गरे र चीनको आलोचना गरे।
यसै क्रममा जुलाईमा आफ्नो भारत भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तिब्बती जनताका धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँग पनि दिल्लीमा भेट गरेका थिए ।
दलाई लामा सन् १९५९ मा आफ्ना अनुयायीहरूसँग तिब्बतबाट भागेर भारत पुगेका थिए । चीनले उनलाई पृथकतावादीको रुपमा हेरेको छ ।
मिडियाको सन्देशहरूमा परिवर्तन
चिनियाँ मिडियाले पनि अहिले तिब्बतका लागि अङ्ग्रेजी शब्द तिब्बतको सट्टा पिनयिन शब्द शिजाङ प्रयोग गरिरहेको छ।
यस वर्षको अगस्टदेखि तिब्बतको बारेमा गरिएका रिपोर्टहरूमा शिजाङ शब्द बढी प्रयोग भएको छ। अक्टोबर २६ मा केन्द्रीय तिब्बत प्रशासनको प्रकाशन बिटर विन्टरले एक रिपोर्ट प्रकाशित गरे जसमा चीनले तिब्बतबाट उसको नाम पनि चोरेको आरोप लगाइएको थियो ।
यो रिपोर्टमा भनिएको छ कि तिब्बतमा सीसीपीको सचिवको पदभार ग्रहण गरेलगत्तै वाङ जुनझेङले आधिकारिक कागजातहरूमा शिजाङ शब्दको प्रयोगमा जोड दिए।
अब के होला ?
चीनले सिनजियाङ र हङकङलाई लिएर पश्चिमी देशको आलोचनालाई बेवास्ता गरिहेको छ। यसै समय उसले तिब्बतमाथि आफ्नो पकड थप बलियो बनाउन सक्ने बताइएको छ।
यसको स्पष्ट सङ्केत वाङ जुङझेङलाई तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको सचिवको रूपमा नियुक्त गर्नु थियो। सिनजियाङमा मानवअधिकार उल्लङ्घन गरेको आरोपमा वाङ जुनझेङलाई अमेरिका, युरोपेली संघ र बेलायतले प्रतिबन्ध लगाएका छन् ।
साउथ चाइना मर्निङ पोस्टमा मे महिनामा प्रकाशित एउटा लेखमा चीनको एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ता शाई मासोङले तिब्बतमा पार्टीका पूर्व सचिव वु यिङजीको भनाइलाई जोड दिएका छन्। यसमा उनले चीनले तिब्बती बौद्ध धर्ममा चिनियाँ चीजहरू समावेश गर्नुपर्ने बताए।
शाईले भने, ‘चीनले अब तिब्बत र अन्य जातीय अल्पसंख्यकहरूप्रतिको ऐतिहासिक दृष्टिकोण परिवर्तन गरेर नयाँ चीनको ऐतिहासिक दृष्टिकोण बनाउन खोजिरहेको छ।’
शाईले भने, “यी परिवर्तनहरू पछिल्ला केही वर्षमा मात्रै भएका हुन्, हामीले पहिले त्यसमा खासै जोड दिएका थिएनौं।’
Leave a Reply