काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुर बाहेक सबै (७६) जिल्लाहरुको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभागले जनाएको छ।
स्रोतका अनुसार भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी पक्षबीच भागबण्डा मिल्न नसक्दा तनावको अवस्था सिर्जना भएको हो ।
राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेको थियो। भक्तपुरमा वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकेको राप्रपाले जनाएको छ ।
यस्तै, राप्रपाले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरिएको पार्टी कार्यालयले जानेको छ।
यस्तै बिहीबार बसेको अध्यक्षत्रयको बैठकले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने भएको छ ।
राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।
Leave a Reply