बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानु पर्ने बताएका छन्।
बुधबार नेपाल महिला संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन भन्दै एमालेलाई हराउन गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा जोड दिए।
‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, मन्त्री खाँणले भने, ‘पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धनलाई निर्वाचनसम्मै कायम गरिनुपर्छ। ’
गृहमन्त्री खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताए । ‘कांग्रेसलाई सवल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ,’ उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ ।
आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो । उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन् ।
Leave a Reply