Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सिंगापुरमा लागूऔषध तस्करीलाई दिन लगिएको मृत्युदण्ड किन रोकियो ? मलेशियाली अधिकारीले गरे व्यापक प्रदर्शन

    सिंगापुरमा लागूऔषध तस्करीलाई दिन लगिएको मृत्युदण्ड किन रोकियो ? मलेशियाली अधिकारीले गरे व्यापक प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । सिङ्गापुरमा लागुऔषधि तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड एउटा अदालतले तत्कालका लागि स्थगित गरिदिएको छ। ती व्यक्तिको बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न व्यापक माग भइरहेको छ।

    नागेन्द्रन धर्मलिङ्गमलाई बुधवार मृत्युदण्ड दिन लागिएको थियो। बाह्र वर्षअघि मलेशियाबाट सानो परिमाणमा हेरोइन सिङ्गापुरभित्र तस्करी गर्न खोज्दा उनी पक्राउ परेका थिए।



    मलेशियाली अधिकारी र मानवाधिकारवादी समूहहरूले नागेन्द्रनको आईक्यू अर्थात् बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न सिङ्गापुरलाई आग्रह गरेका थिए।उनी भारतीय मूलका मलेशियाली नागरिक भएको बताइएको छ।



    यसअघि सिङ्गापुरका अदालतहरूले नागेन्द्रनलाई आफूले के गरेको भन्ने थाहा भएको ठहर गरेका थिए। नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीका आधारमा मङ्गलवार पुनरावेदन अदालतले उनको मुद्दा फेरि हेर्न लागेको छ।

    उनका वकिल एम रविले नागेन्द्रन स्वयं पीडित भएको दाबी गर्दै उनलाई मुक्त गरिनुपर्ने तर्क गरेका छन्। ‘उनलाई फसाइएको हो। उनी [लागुपदार्थ तस्करी] गिरोहका पीडित हुन्। उनलाई उपचार र सहयोग आवश्यक छ, ‘रविले भने।

    नागेन्द्रनको जीवनरक्षाको माग गर्दै छिमेकी देश मलेशियामा प्रदर्शनहरू गरिएका छन्। साठी हजार जनाभन्दा बढी मानिसले नागेन्द्रनलाई क्षमादान दिन सिङ्गापुरका राष्ट्रपतिसँग आग्रह गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेका छन्।

    अन्तर्राष्ट्रिय मानवाधिकार कानुनले मानसिक अस्वस्थता भएका मानिसलाई मृत्युदण्ड दिन रोक लगाएको तर्क उनीहरूले गरेका छन्।

    सामाजिक सञ्जालमा पनि त्यो अभियानले गति पाएको छ । मानिसहरूले आक्रोश तथा नागेन्द्रनप्रति सहानुभूति प्रकट गरेका छन्। ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनले मृत्युदण्डको विरोध गर्दै नागेन्द्रनलाई छोडिदिन सिङ्गापुरसँग आग्रह गरेका छन्।

    एक्काइस वर्षको हुँदा सन् २००९ मा नागेन्द्रन ४३ ग्राम हेरोइनसहित पक्राउ परेका थिए। तिघ्रामा बेरेर उनले उक्त लागुपदार्थ मलेशियाबाट सिङ्गापुर लैजान खोजेका थिए।

    परीक्षण गर्दा एक विज्ञ चिकित्सकले उनको आईक्यू ६९ भएको निष्कर्ष निकालेका थिए। त्यति बौद्धिक क्षमतालाई न्यून मानिन्छ र त्यसले बौद्धिक अपाङ्गता भएको सङ्केत गर्छ।

    तथापि उनलाई मृत्युदण्डको निर्णय सुनाइयो। सिङ्गापुर सरकारले उनले ‘आफूले गरेको कृत्यको प्रकृति राम्ररी बुझेको तथा आफूले गरिरहेको काम राम्रो वा नराम्रो भएको छुट्ट्याउन सक्ने क्षमता नगुमाएको’ तर्क गर्ने गरेको छ।

    सिङ्गापुरमा लागुऔषध तस्करीविरुद्ध कडा कानुन छ अनि दोषीलाई मृत्युदण्ड दिइँदा त्यहाँ प्रायः विवाद हुँदैन। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार