काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक समारोहका बीच पुरस्कृत गरेको हो । सम्मानित हुनेमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृत्तिविकासमा सहयोग पुग्ने गरीे पुरस्कार दिइएको छ ।
यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानूनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पुरस्कृत हुने ट्राफिक प्रहरीले पक्राउ गरेका ३२ चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शुद्धीकरणको अभियानलाई थप उचाइमा पु¥याउने जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्दै थप सशक्त भई कर्तव्य पालनामा अग्रसर हुन आग्रह गरे ।
गत वर्ष प्रलोभनमा पार्न खोज्ने १६६ सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ११३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । चालु आवको छ महिनामा १०९ चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार प्रदान गरिएको हो ।
Leave a Reply