काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २३ लाख नाघेको छ ।
हालसम्म २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् भने एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् ।
२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
अमेरिकामा एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएको छ । यससँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २३ हजार, स्पेनमा २० हजार, फ्रान्समा १९ हजार, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय भन्दा धेरै पुगेको छ । १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply