बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।
आइतबार रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका हुन्।
यस्तै, विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री खाँणले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार गर्न तयार रहेको बताए ।
यस्तै, मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउनकै लागि भए पनि पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए।
‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ,’ कार्यक्रमको फरक प्रसंगमा उनले भने।
यस्तै, गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
Leave a Reply