Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बुद्ध एयर प्रकरण : क्याप्टेन शेर्पा मुख्य दोषी, ६ महिनाका लागि निलम्बन

    बुद्ध एयर प्रकरण : क्याप्टेन शेर्पा मुख्य दोषी, ६ महिनाका लागि निलम्बन

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । बुद्ध एयर विराटनगरमा ल्याण्ड हुन नसकेको प्रकरणमा चालकदलकै मुख्य कमजोरी रहेको पाइएको छ । पांग्रा नखुलेको कारण देखाउँदै विराटनगरबाट काठमाडौं नै फर्किएको बुद्ध एयरको विमानसम्बन्धित घटना छानबिन गर्न गठित विज्ञहरूको टोलीले उक्त प्रतिवेदन तयार पारेको हो ।

    वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले चालकदलका दुवै सदस्यलाई दोषी ठहर गरेको छ । उनीहरूकै कमजोरीका कारण उक्त घटना भएको समेत प्रतिवेदनमा उल्लेख छ ।



    ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा जाँच नगरी उडाइएको पाइएपछि छानविन समितिले चालक दललाई नै दोषी ठहर गरेको छ ।



    बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलाई बुझाइएको प्रतिवेदनमा विमानमा कुनै समस्या नभएको, ल्यान्डिङ गियर खुलेको र अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा नराख्दा आफ्नै सामान्य गल्तीबाट चालकदल झुक्किएको उल्लेख छ ।

    असोज ११ गते बिहान काठमाडौं विमानस्थलबाट ७३ यात्रु बोकेर विराटनगर उडेको विमान अवतरण हुनै लाग्दा ल्यान्डिङ गियर (पांग्रा) नखुलेपछि क्याप्टेन आङ्गेलु शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौं डाइभर्ट गराएका थिए । अवतरणका क्रममा पांग्रा खुले/नखुलेको संकेत गर्ने दुइटा बत्तीमध्ये ककपिटको ड्यासबोर्डसँगै रहने ‘प्राइमरी इन्डिकेटर’ ले सेन्टर (अगाडि) तथा पछाडि (दायाँ र बायाँ) गरी तीन भागमा रहेका पांग्रामध्ये दायाँ पांग्राको संकेत गर्ने बत्ती नबलेको कारण देखाई विमानलाई काठमाडौं फर्काइएको थियो ।

    समितिका संयोजक क्याप्टेन ददिराम निरौलाका अनुसार उक्त उडानमा को–पाइलटले जहाज उडाउनुअघि ककपिटका सबै बत्ती चेक गरेको नदेखिएको बताएका छन् । उनले भनेका छन–‘जहाजभित्र रातो, हरियो, नीलो, पहेंलो र सेतो रङका संकेत बत्ती हुन्छन् । भुइँ छाड्नुअघि ककपिटमा बत्ती जाँच्दा क्रिसमस ट्री जस्तो झलमल्ल देखिन्छ । त्यो उडानमा को–पाइलटले टेस्ट बटन जाँचेको पाइएन । त्यसले टेस्ट, डिम र ब्राइट गरी तीन प्रकारका संकेत दिन्छ । यो अनिवार्य एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडिय) पनि हो ।’

    घटना हुनुमा छानबिन समितिले क्याप्टेन शेर्पालाई मुख्य दोषी ठहर्‍याएको छ । शेर्पा क्याप्टेनबाहेक बुद्ध एयरको एटीआर ४२ र ७२ विमानका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा एटीआर विमानका पाइलटका लागि तोकिएका प्रशिक्षक डीसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् ।

    उनी एटीआर विमानका को–पाइलट, क्याप्टेन र आईपीको जाँचमा बस्दै आएका थिए । यो घटनापछि छानबिन समितिले उनको प्रशिक्षक पाइलटको इजाजत तीन महिनाका लागि र प्राधिकरणमा रहेको उनको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरेको छ । अब क्याप्टेन शेर्पाले बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा र को–पाइलट अन्सारीले ५० घण्टा अनिवार्य उडेपछि मात्रै प्राधिकरणले उनीहरूलाई ‘रिलिज’ गर्नेछ । त्यसबाहेक क्याप्टेन शेर्पाले आईपी तीन महिनापछि र डीसीपी ६ महिनापछि सर्तहरू पूरा गरेमात्रै पाउनेछन् ।

    छानबिन समिति सदस्यहरूमा विज्ञ पाइलटका रुपमा इन्डोनेसियामा एटीआर उडाउँदै आएका नेपाली क्याप्टेन लियो उबाहाङ चेम्जोङ, प्राधिकरणका एयर वोर्दिनेस इन्स्पेक्टरहरु रितेशराज पन्त र सम्राट प्रधान थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार