सुर्खेत । उच्च अदालत सुर्खेतले किर्ते गरी अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुर, वीरेन्द्रनगर–५ का निर्मल पुरी र वीरेन्द्रनगर–२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको हो ।
उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो ।
रावतको नाममा दर्ता भएको वीरेन्द्रनगर–१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो । २०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो ।
यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए । ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो ।
Leave a Reply