Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बूढीगङ्गामा ज्वरोका बिरामी बढे

    बूढीगङ्गामा ज्वरोका बिरामी बढे

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.6K
    SHARES

    मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

    बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिइन् । उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा १० देखि १५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरिएको छ ।



    मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताइन् । अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुनेलगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ ।



    भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतजना जगाउँदै आएको अहेव थापा बताउँछिन् ।

    औषधि अभाव छैन

    बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ । दैनिकरुपमा भाइरल ज्वरोलगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरुको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगङ्गा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताएका छन् ।

    बिरामी बढी आउने गरेको खबरपछि स्वास्थ्य शाखाले आवश्यक औषधि पठाएको सहसंयोजक खडायतले बताए । चिसो मौसम बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, दमका बिरामी आउने गरेको त्रिवेणी नगरपालिका–९ मा रहेको पैमा आधारभूत स्वास्थ्यकेन्द्रकी स्वास्थ्यसहायक सीता खत्रीले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार