Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हत्या गरी लाशलाई आँगनमै पुर्ने दुईजना पक्राउ

    हत्या गरी लाशलाई आँगनमै पुर्ने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.7K
    SHARES

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

    गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो ।



    घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडाैंमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।



    घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए ।

    मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।

    मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडाैंको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    दाहालको घर भत्काई नयाँ बनाउनुपर्ने भएकाले मृतकसँग ठेक्कामा लिनेदिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो । काम सुरु गर्न रु ४० हजार पेस्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ । सहमति भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

    आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीमध्ये मगरले कोदालोले दाहालको टाउकामा प्रहार गरेको र मृत्यु भएपछि दुवै जना मिलेर मृतककै घरअगाडि आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । उनीहरुलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार