Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत गृह बगेपछि पूरै वडा अन्धकारमा

    लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत गृह बगेपछि पूरै वडा अन्धकारमा

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.8K
    SHARES

    file photo

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ ।

    दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिए ।



    “केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ”, उनले भने, “सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकीसमेत जोखिममा परेको छ ।”



    भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन् । लमसुङ बस्तीको माथितर्फ विसं २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

    तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको बताए ।

    यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सौर्य उर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । विसं २०७६ कात्तिकमा रु एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार