काठमाडौँ । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको विश्लेषण गरेको छ ।
फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको उल्लेख गरेको छ।
‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ’, फोरमले विज्ञप्तिमा उल्लेख गरेको छ।
यसअघि प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रीको बिषयमा भाग मागेको खबर सार्वजनिक भएको थियो । प्रधानमन्त्री देउवाले प्रधान्यायाधीश जबराको नाता पर्ने गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री पनि बनाएका थिए । चौतर्फी आलोनापछि हमालले शपथ लिएको तेस्रो दिनमा नै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
यसरी प्रधानन्यायाधीश र दलहरूबीच भागबन्डाको कुरा बाहिरिनु र त्यसलाई बल पुग्नेगरी भएका क्रियाकलापले न्यायपालिकाप्रति जनआस्था गम्भीर खतरामा परेको पूर्व न्यायाधीश फोरमको भनाइ छ ।
Leave a Reply