बुटवल । लगातारको वर्षाका कारण आएको पहिरोले गर्दा पाल्पाको रानीमहल घुम्न गएका पर्यटकहरु अलपत्र परेका छन् । ्
अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध हुँदा दशैं विदामा तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका झण्डै २०० पर्यटकहरु अलपत्र परेका हुन् ।
रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीरलगायत पाँच ठाउँमा पहिरो गएको स्थानीय प्रशासनले जनाएको छ ।
कतिपय पर्यटकहरु पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन पाएका छैनन् ।
सडक नखुल्दा देशका विभिन्न स्थानबाट घुम्न गएका पर्यटकहरु त्रिपाल टाँगेर बीच बाटोमै बस्न बाध्य भएको स्थानीयले जनाएका छन् ।
पर्यटकहरु दुई दिनसम्म अलपत्र पर्दा समेत सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउन चासो नदिंएको आरोप लागिरहेका बेला तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले भने धेरै ठाउँमा पहिरो गएकाले ढिला भएको तर आज दिउँसोसम्म रानीमहल क्षेत्रको पहिरो पन्छाइने बताए ।
चार राजमार्ग अवरूद्ध
अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।
म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।
यस्तै डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यसैगरी अछामको चौपाटी गाउँपालिका–६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।
बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।
Leave a Reply