Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • पोखरालाई ४ विकेटले हराउँदै चितवनले जित्यो ईपीएलको उपाधि

    पोखरालाई ४ विकेटले हराउँदै चितवनले जित्यो ईपीएलको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

    पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवनले उपाधि उचालेको हो ।



    चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए । त्यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे ।



    खराब शुरुवाती गरेको चितवन खेल भने आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो ओभरमै चितवनमा हासिम अन्सारी खाता नखोल्दै नन्दन यादवको बलमा विनोद भण्डारीबाट क्याचआउट भएका थिए । अर्को ओभरमा करिम जन्नत पनि किशोर महतोको बलमा रिचर्ड लेभीबाट शून्य रनमै क्याचआउट भए ।

    चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहाजाद ११ रन बनाएर आउट भएपछि चितवनले ४ ओभरमा २० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । किशोरले शाहाजादलाई विपिन रावलबाट क्याचआउट गराए ।

    तर, त्यसपछि भीम सार्की र दिलिप नाथले चितवनको ईनिङ्स सम्हाले । यी दुईले अर्धशतकीय साझेदारी गर्दै चितवनको जीतको आधार तयार पारे । भीम र दिलिपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

    दिलिप नाथ १२ औं ओभरमा १८ रन बनाएर आउट भए । दिलिपलाई किशोरल महतोले लोकश बमबाट क्याचआउट गराए । १५ औं ओभरको पहिलो बलमा राजेश पुलामी १४ रन बनाएर नन्दन यादवको बलमा बोल्ड भए ।

    सर्वाधिक ६३ रन बनाएका भीम १६ औं ओभरमा आउट भए । जितका लागि २ रन चाहिएको बेला भीम किशोर महतोको बलमा ऋत गौतमबाट क्याचआउट भएका थिए ।
    त्यसपछि कप्तान सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गर्दै चितवनलाई जीत दिलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार