काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर शीतल निवासबाट फर्किएका छन् ।
मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीले आज नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
यसअघि बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको थियो।
सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा एकीकृत समाजवादीले चार÷चार मन्त्रालय पाउने भएका छन्।
मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ । एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।
यस्तै शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ।
नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउँदा जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ।
Leave a Reply