Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले मानेनन्

    र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले मानेनन्

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.9K
    SHARES

    धादिङ — मंगलबार अपराह्न जिल्लामा पहिलोपटक कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा ज्वालामुखी गाउँपालिका- ३ का २७ वर्षीय युवामा पोजिटिभ नतिजा निस्कियो। उनलाई थप परीक्षणका लागि ११ किमि टाढाको सदरमुकामस्थित आइसोलेसन वार्ड पुर्‍याउनुपर्ने भयो। तर कुनै एम्बुलेन्सका चालक तयार भएनन्।

    बिरामी बोक्न ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा संस्थागत गरी ४ वटा एम्बुलेन्स छन्।’हामीले धेरै अनुरोध गर्‍यौं, कसैले मानेनन्,’ वडा नं ३ का अध्यक्ष रुद्रमान श्रेष्ठले भने, ‘जिल्लाका अरु एम्बुलेन्सलाई पनि खबर गरेको हो तर कोही आएनन्।’ जबकि चालकलाई २ जोर पीपीई र अन्य व्यक्तिगत सुरक्षा सामग्री पनि दिइएको उनले बताए।



    सुरक्षा सामग्री हुँदाहुँदै जान्न भन्ने एम्बुलेन्स चालकमाथि कारबाही हुने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमिल्सिनाले बताए।



    कसैले बोक्न नमानेपछि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सहयोगका लागि प्रहरी पठाउने तयारी गरेका थिए। तर वडाध्यक्ष श्रेष्ठ आफै पुर्‍याउन तम्सिए। मंगलबार भीषण हुरीबतास र पानी परेकै बेला उनले ती युवालाई उनकै मोटरसाइकलमा राखेर मध्यरात साढे ११ बजे सदरमुकामको आइसोलेसन वार्ड पुर्‍याए।

    आइसोलेसनमा जिल्ला विपद् व्यवस्थापन समितिले २ जना चिकित्सक बोलाएर परीक्षण सुरु गरेको छ। ‘पहिलो परीक्षणमा कोभिड १९ पोजिटिभ देखापरे पनि पीसीआर परीक्षण नगरेसम्म यसै भन्न नसकिने जिल्ला अस्पताल धादिङका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमलाले बताए। उनको स्वाब पीसीआर परीक्षणका हेटौंडा पठाउने उनले जनाए।

    जिल्लास्थित संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले सरकारी स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालकहरुको जीवन बिमा गरिएको तर निजी र संस्थागतका चालकलाई राज्यले सेवा सुविधाप्रति चासो नदेखाएको प्रतिक्रिया दिए। ‘त्यही भएर नगएका हुन सक्छन्, स्थानीय तहले सञ्चालन गरेका एम्बुलेन्सहरु जानुपर्ने हो,’ उनले भने।

    जिल्ला सदरमुकाममा ११ वटासहित जिल्लाभर ६२ वटा एम्बुलेन्स सञ्चालनमा छन्। कतिपय एम्बुलेन्स स्थानीय तहमा सेवा दिन दर्ता गरिए पनि काठमाडौंतिरै चल्छन्। सदरमुकाममा रहेका ७ वटा एम्बुलेन्सले ८ हजार खर्चेर बिरामी र चालकबीच सुरक्षाका लागि छेकबार बनाएका छन्। कतिपयले बिरामीको अवस्था निगरानी गर्न सीसी क्यामेरासमेत जडान गरेका छन्।

    पूरै वडा सिल गरिँदै

    ज्वालामुखी गाउँपालिकाले वडा नं ३ लाई पूरै सिल गर्न माइकिङ गर्दै सूचना जारी गरेको छ। आजैबाट वडा सिल गर्न लागिएको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताए।

    ‘आशंका गरिएका युवाको अन्तिम रिपोर्ट कुरेका छौं, उक्त रिपोर्ट पनि पोजिटिभ आए निजको परिवारजन र सम्पर्कमा आएका सबैलाई निगरानीमा राख्नेछौं,’ प्रजिअ अस्मान तामाङले भने।

    पोजिटिभ नतिजा आएका युवाले आफू दक्षिण कोरियाबाट फागुन २० मा काठमाडौं आएलगत्तै साथीहरुसँग हेटौंडा पुगेर सेल्फ क्वारेन्टाइनमा बसेको बताए। ‘घर परिवार र समाजको चर्को दबाबले टेस्ट पनि गरेँ, पोजिटिभ देखापरे पनि सामान्य अवस्थामै रहेको महसुस गरिरहेको छु,’ उनले भने। चैत पहिलो साता सामान्य रुघाखोकी लागे पनि अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनले बताए।

    र्‍यापिडटेस्ट जारी

    प्रदेशबाट र्‍यापिड टेस्टका लागि ३ सय किट प्राप्त भएको छ। रुवीभ्याली, खनियाबास, थाक्रे र सिद्धलेकबाहेक अन्य स्थानीय तहमा परीक्षण सुरु गरिएको छ।

    नीलकण्ठ नगरपालिकामा ५०, गल्छीमा ३६, नेत्रावतीमा ३६, त्रिपुरासुन्दरी २०, धुनीबेँसी नगरपालिकामा १४, गजुरीमा ७, गंगाजमुनामा ३ र ज्वालामुखीमा ३५ जनाको परीक्षण गरिएको छ। जम्मा २ सय १ जनाको परीक्षणमा सबैको नेगेटिभ नतिजा देखिएको छ।

    क्वारेन्टाइनमा राखिएका गल्छीका १ र गजुरीका २३ जना बुधबार फर्किएका छन्। यसैगरी झापाको दमकबाट पैदलै ज्वालामुखीका स्थानीय युवासँग आएका ५ जनालाई सदरमुकामस्थित क्वारेन्टाइनमा राखिएको छ। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार