रामनारायण यादव / सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले एकल जातीय सोच र चिन्तनले सुखी नेपाली र समृद्ध नेपाल बन्न नसक्ने बताएका छन् । उनले नेपाल सबै नेपालीको भएकाले एकल राज्य र एकल जातीय सोचमा परिवर्तन भई देश बहुराष्ट्रिय राज्यको अवधारणाअनुरूप परिवर्तित हुनुपर्ने प्रस्ट पारे ।
सप्तरी सदरमुकाम राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता महतोले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड तीनै जनालाई प्रधानमन्त्री चाहिएको भन्दै संविधानमै काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका गरी तीन प्रधानमन्त्री रहने व्यवस्था सुनिश्चित गरेको भए हुने भनी व्यंग्य गरे ।
उनले जनतालाई गोली प्रहार गरेर संविधान जारी गर्ने काँग्रेस, एमाले र माओवादी केन्द्र आफूहरूका लागि एउटै भएको बताए ।
संविधान र शासनसत्तामा सबै नेपालीको पहुँच हुनुपर्ने भन्दै उनले कुर्सीको लडाइँमा जनता उपेक्षित भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘जनता जाओस् भाँडमा तर नेताहरूलाई कुर्सीका लागि चैन छैन ।’
लोसपाका वरिष्ठ नेता महतोले लोकतान्त्रिक आन्दोलन, संघीयता, अधिकार र पहिचानका सबालमा बाँकी कार्यभार पुरा गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको निर्माण भएको बताए । उनले सिद्धान्त, विचार र नीतिका आधारमा पार्टी निर्माण हुने औंल्याउँदै व्यक्तिगत स्वार्थ, आकांक्षा र महत्वाकांक्षाका कारण पार्टी फुटाउनेहरूको समीक्षा जनताले गर्ने जिकिर गरे ।
उनले मधेसमा एउटा शक्तिको निर्माण गर्ने क्रममा वैधानिक रूपमै पार्टी फुटाउने काम भएको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बहाना, नारा र निहुँमा मधेसलाई कमजोर र विभाजित बनाएको दाबी गरे ।
पत्रकार सम्मेलनमा उपेन्द्र यादवविरुद्ध खनिएका नेता महतोले तत्काली जसपा नेपाल टुक्रने बेलामा आफूहरूले रातारात उद्धार गरेको तर उपेन्द्र यादवले विश्वासघात गरेको टिप्पणी गरे । उनले भने, ‘पार्टीलाई टुक्रा–टुक्रा गर्न सकिन्छ तर जनतालाई टुक्रयाउन सकिँदैन । पार्टी फोड्नेहरूलाई समयले उत्तर दिनेछ । दण्डित गर्नेछ ।’
नेता महतोले सप्तरीको धर्तीबाट गजेन्द्रनारायण सिँहले संघीयता र रामराजाप्रसाद सिँहले गणतन्त्रको आवाज उठाएपछि आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको स्मरण गरे । उनले भने, ‘तर यसले अझ पूर्णता प्राप्त गरेको छैन ।’
Leave a Reply