Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दुईनाले बन्दुक बोकेर हिँड्ने भूपतिबज्र बौद्ध घ्याङ गुठीको चिनियाँ लामा नियुक्त !

    दुईनाले बन्दुक बोकेर हिँड्ने भूपतिबज्र बौद्ध घ्याङ गुठीको चिनियाँ लामा नियुक्त !

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । गुठी संस्थानले विदेशी नागरिकता लिएका भूपतिबज्र लामालाई गोप्य रुपमा बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी)  नियुक्ति गरेको छ ।  बौद्धनाथ क्षेत्र गुठी, तामाङ कल्याण गुठीदेखि स्थानीयको बिरोधका बाबजुद गुठी संस्थानका अध्यक्ष पुण्य भूसालले आर्थिक चलखेलमा विवादास्पद लामालाई नियुक्ति गरेका हुन।

    नागरिकता सच्याएकोदेखि गैरकानुनी रुपमा रातो पासपोर्ट लिएर भूपतिबज्र बिबादमा मुछिएका थिए। लामालाई नियुक्ति नगर्न चौतर्फी दबाब परे पनि भुसालले उनको नियुक्ति गरिसकेका छन् । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेले पनि भूसालको डिजाइनमा परी विवादित भूपतिबज्रको नियुक्ति रोक्नेतर्फ नलागेको आरोप छ ।



    संस्थानका अध्यक्ष भूसालले भूपतिबज्रको नियुक्ति गरिसकेका छन् । संस्थानमा ३ बोर्ड सदस्य रिक्त छन् । गृहमन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य सहसचिव प्रदीप कोइराला नयाँ भएकाले बुझेर मात्र हस्ताक्षर गर्ने भनेकाले नियुक्तिपत्र दिन रोकिएको छ । माइन्यूट गरिसकिएको गुठी संस्थानको उच्च स्रोतले बताएको छ ।



    विश्व सम्पदा बौद्ध स्तुपामा अनधिकृत रुपमा प्वाल पार्न ड्रिल गर्ने जस्ता अपारदर्शी क्रियाकलापमासंलग्न भएको आरोपमा बौद्धका स्थानीय संघसंस्था र बौद्धनाथ क्षेत्र विकास समितिले लामालाई बौद्धनाथमा प्रवेश नै निषेध गरेका थिए ।

    तिनै लामालाई संस्थानका अध्यक्ष भूसालले पुनः दोस्रो कार्यकालका लागि पनि नियुक्त गरेका छन् । ५ बर्षअघि उनको नियुक्ति गर्दा नै धेरै विवाद भएको थियो । त्यतिबेला तत्कालीन संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक दीपकबहादुर पाण्डे र तत्कालीन भूमिब्यवस्था मन्त्री पदमा अर्यालले पनि करोडौंको डिल गरी उनलाई घ्याङगुठीको चिनियाँ लामा नियुक्ति गरेका थिए ।

    भूपतिबज्र लामाको बारेमा धेरै विवाद छ । उनीसँग विदेशी नागरिकता भएको, नागरिकता सच्याएको, स्वघोषित औतारी लामा बताउँदै हिँडेको, विश्व सम्पदा बौद्ध स्तुपामा जथाभावी ड्रिल गरेको तथा बौद्धनाथ विकास समितिसँग समन्वय नगरेकोजस्ता आरोप छ । उनी पुजारीको काम नित्य पुजा गर्ने हो । तर ५ बर्षमा अढाई बर्ष हङकङमा बसेका थिए । उनीसँग हङकङ आईडी (नागरिकता) छ ।

    विदेशी नागरिकलाई नेपाल सरकारले सरकारी सेवामा निषेध गरेको छ । विदेशी नागरिकता, स्थायी बसोबास अनुमतिपत्र(पीआर)  लिएका नेपालीलाई नेपालमा सरकारी सेवामा निषेध गरिएको छ ।

    हङकङमा १ वर्षदेखि बसेका भूपतिबज्र लामा पुनः चिनियाँ लामा नियुक्तिका लागि नेपालमा आएर शक्तिकेन्द्रहरूमा साम, दाम, दण्ड भेदको नीतिका लागेका थिए । जति खर्च गरेर भएपनि उनी पुनर्नियुक्तिका लागि लागेका थिए । भूपतिबज्रले गुठी संस्थानका अध्यक्ष पुन्य भुषाल र पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई केही दिन अघि एक पाँचतारे होटलमा भेटेका थिए ।

    यसअघि चिनियाँ लामा नियुक्ति हुँदा तत्कालीन भूमिब्यवस्था मन्त्री पदमा अर्याललाई भूपतिबज्रले ठूलै रकम घुस बुझाएको सार्वजनिक भएको थियो। भूपतिबज्रले अहिले भने अध्यक्ष भूसाललाई घुस बुझाएका छन् ।  भूमिब्यवस्था मन्त्री नआउँदै उनी विवादित लामा नियुक्ति गरी खल्ती भर्ने योजनामा छन् । अब आउने मन्त्रीले उनलाई हटाउने भएकाले भूपतिबज्रको नियुक्ति गरी काठमाडौंमा एउटा घर किन्ने योजनामा उनी रहेको स्रोत बताउँछ ।

    पद्माअर्याल र उनको टोलीलाई भूपतिबज्रले चीनदेखि हङकङ घुमाउने र सपिङ गराउनेसमेत काम गरेका थिए । सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समिति, स्थानीय जनप्रतिनिधि, बौद्धनाथ स्तुपासँग सम्बन्धित तामाङ कल्याण गुठीलगायतका संघसंस्थाले भूपतिबज्रलाई नियुक्ति गरेमा विरोध गर्ने र प्रवेश निषेधै गर्ने तहको आन्दोलन गरेका थिए ।

    आफूलाई स्वघोषित औतारी लामा बताउँदै आएका र बुद्ध धर्मको अनुयायी भन्ने भूपतिबज्र लामाले १२ बोरको दुईनाले बन्दुक बोकेर हिँड्ने गरेका छन् । बुद्ध धर्ममा हत्या र हिंसा वर्जित छ । तर धर्मगुरु भन्दै हिँड्ने भूपतिबज्रले बन्दुक किन बोक्नुप-यो भन्ने प्रश्न बौद्धबासीहरुबीच बारम्बार उठ्ने गरेको छ । उनले बाह्रबोरको बन्दुक बोकेर आफ्नो बिरोध गर्नेहरुलाई बौद्धनाथ क्षेत्रमा आतंकित बनाउने काम गर्दैआएका छन् ।

    भूपतिबज्रलाई जनप्रतिनिधिहरुको पनि समर्थन छैन । भूपतिबज्रले बौद्धनाथको चिनियाँ लामा पदलाई विदेशमा कमाउने भाँडो बनाउँदै आएका छन् । पुजारी भएपछि नियमित पुजा गर्नुपर्नेमा उनी साढे २ बर्षसम्म हङकङ बस्ने र पद भजाएर कमाउधन्दामा लिप्त हुने गरेकोमा बौद्धबासी रुष्ट छन् । फेरि पनि संस्थानले उनैलाई नियुक्ति गरी बौद्धबासीलाई चिढ्याउने काम गरेको छ ।

    उनले नागरिकतामा समेत औतारी लामा लेखेका छन् । पहिलो र दोस्रो प्रतिलिपिमा भूपतिबज्र लामा उल्लेख भएको नागरिकताको तेस्रो प्रतिलिपि लिँदा औतारी लामा थपिएको छ । नागरिकता सच्याएको अभियोगमा सर्वसाधारण नागरिकलाई जेल हालिन्छ । तर भूपतिबज्रले त्यही नागरिकताका आधारमा राहदानी विभागका अधिकारीलाई पनि प्रभावमा पारी हिज होलिनेस भूपतिबज्र लामा उल्लेख गरी रातो पासपोर्ट पनि लिएका छन् । नागरिकता सच्याएको आरोपमा सामान्य नागरिकलाई जेल संजाय हुन्छ । गैरकानुनी रातो पासपोर्ट लिनेमाथि पनि कारबाही हुनुपर्ने हो । यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेका छन् ।

    करोडौं घुसको डिल गरी बौद्ध घ्याङगुठीको चिनियाँ लामामा विवादित भूपतिबज्र लामालाई नियुक्ति गरिएकोबारेमा गुठी संस्थानका अध्यक्ष पुण्य भूसालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार