काठमाडौं। गृह मन्त्रालयले एक बर्ष अबधि पुग्न लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तयारी थालेको छ।
बालुवाटारले नरुचाएपछि एक बर्ष अबधि नपुगेपनि गृहले काठमाडौैं र ललितपुरका प्रहरी प्रमुख पनि परिवर्तन लागेको मन्त्रालय स्रोतको भनाइ छ।
प्रधानमन्त्री शेरवहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई एक बर्ष पुग्न लागेका काठमाडौंसहितका एसएसपीहरुको सरुवा गर्न निर्देशन दिइसकेको स्रोतको भनाइ छ। गत मंसिरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको थियो।
काठमाडौंको प्रहरी प्रमुखका लागि नेपाल प्रहरीका प्रवक्ता समेत रहेका एसएसपी बसन्त कुँवर र केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी) मा कार्यरत एसएसपी सुदिप गिरीबीच प्रतिस्पर्धा चलेको छ। ललितपुरमा जान भने भने एसएसपी यज्ञबिनोद पोखरेलले ‘पावर’ लगाएका छन् ।
कुँवरलाई तत्कालिन केपी ओली सरकारले पेलेर बढुवामा पछि पारेको थियो।
एसएसपी बसन्त कुँवर आईजीपी शैलेश थापा क्षेत्रीको रोजाइमा परेका छन् भने गिरीलाई गृह मन्त्रालयले काठमाडौं पठाउन चाहेको छ।
एसएसपी गिरीले गृह मन्त्रालयको सिफारिसमा संविधान दिवसका दिन पदक पाएका थिए। उनको नाम प्रधान कार्यालयले पठाएको थिएन।
सरकारबाट केपी ओली हट्नु अघि महानगरिय प्रहरी कार्यालयका प्रमुख एआईजी हरी पाल र काठमाडौंका एसएसपी अशोक सिंहले अनुसन्धान नै पूरा नगरी सांसद नवराज सिलवालको कीर्ते मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको भन्दै बालुवाटारले दुबै जनालाई हटाउन दबाब दिंदै आएको छ।
एआईजी हरी पालको भने गृहमन्त्री बालकृष्ण खाँडसँगको उठबसका कारण सरुवा हुन सकेको छैन।
पाल र सिंहलाई गृहले पदक दिन अस्विकार गरेको वताइएको छ।
तत्कालिन सत्तारूढ दल एमाले र सरकारको दबाबका कारण फौजदारी मुद्दाको सिलवालको फाइल अनुसन्धान नै पूरा नगरी (बयान नै नलिकन ) सरकारी वकिलको कार्यालयमा बुझाइदिएका कारण सिलवालविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेको थियो। एसएसपी सिंहले भने प्रतिवादीको बयान लिएर फाइल बुझाइएको दाबी गर्दै आएका छन् ।
Leave a Reply