काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारका लागि फलामको चिउरा बनिरहेको छ। सत्ता साझेदार दलहरुबीच एमसीसीका विषयमा साझा धारणा तय नहुँदा गठबन्धनमै फाटो आउने स्थितिसम्म बनेको थियो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धन फुटाउन अनेक उपायहरु लगाउने प्रयास गरिरहेको छ। एमालेले गठबन्धनभित्रका असहमतिमा खेल्ने प्रयास गरिरहेको छ। कतिपय नेताले कांग्रेस र एमालेबीच सहकार्य हुने भन्दै माओवादी केन्द्र र जसपालाई चिढाउने प्रयास पनि गरिरहेका छन्।
यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन्। मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए।
‘सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो। त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ‘किङमेकर’ हुनुहुन्छ। साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?,’ ओलीले प्रश्न गरे।
यसलाई सत्तागठबन्धनमाथि ओलीको अर्को अस्त्रका रुपमा हेरिएको छ। गठबन्धन फुटाएमा राजनीतिक लाभदेखि चुनावमा पनि फाइदा हुने एमालेको आँकलन छ।
Leave a Reply