विराटनगर । चौतर्फी रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना भइरहेका बेला कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले समेत आलोचना गरेका छन् ।
डा. कोइरालाले सरकार अलोकतान्त्रिक रुपमा अघि बढेको भन्दै आलोचना गरेका हुन् । पाँच जनाको मन्त्रिपरिषदले सरकार चलाउन नसक्ने भन्दै उनले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश र अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने गरी विज्ञप्ति जारी गर्नु सरकारको अलोकतान्त्रिक काम भएको बताए ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भने–‘हाम्रै नेतृत्वको सरकार छ । तर हाम्रै नेतृत्वको सरकार भएपनि गलत कुरामा बोल्नैपर्ने हुन्छ । हामीलाई जननायक बीपी कोइरालाले त्यही कुरा सिकाउनुभएको छ । यो सरकार पनि अलोकतात्रिक तरिकाले हिँड्दैछ ।’
नेता कोइरालाले नेपाली कांग्रेसको डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशनलाई स्वीकार्न नसक्ने बताए । उनले कांग्रेसको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै आपत्ति जनाए । कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक ढंगले चलेको भन्दै उनले यसको समाधानका लागि नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताए ।
नेता कोइरालाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताए । एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताउँदै उनले भने–‘राष्ट्रिय सहमति बनाउन सकिन्छ भने बनाऔं । देशका प्रधानमन्त्रीहरु त एक ठाउँमा बस्नहोस्, सहमति गरेर अघि बढ्नुहोस् ।’
‘पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदाखेरि एमसीसी पास गर्नुपर्छ भन्नुहुन्छ । एग्रिमेन्ट गराउनुहुन्छ, प्रधानमन्त्रीबाट निस्किएपछि गर्नुहुँदैन भन्नुहुन्छ । यस्तो कुराले नेपाललाई अप्ठेरो पर्छ ।’ उनले थप भने ।
एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताए । उनले भने–‘संविधान माथि एमसीसीको कानुन लागु हुँदैन होला, हामीले बुझाउन सक्नुपर्यो, नेताहरुले बुझाउनुपर्यो ।’
Leave a Reply