काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख विपक्षी नेकपा (एमाले)ले सभामुख समक्ष आफ्नो निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
एमालेले माधवकुमार नेपाललाई बोलाएको बैठकमा आफूहरु नआउने भन्दै बैठक नै वहिष्कार गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । प्रमुख सचेतक भट्टराईले माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका हुन् । भट्टराईले सभामुखलाई भनेका छन्–‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’
एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिएका थिए ।
२ भदौमा दर्ता भएको माधवकुमार नेपालकोनयाँ पार्टीले ९ भदौमा मान्यता पाएको थियो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए । तर, एमालेले भने माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको पत्र भदौ १ गते नै संसद सचिवालयमा दर्ता गराइसकेको थियो ।
यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुख समेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।
Leave a Reply