काठमाडाैँ। पर्साको वीरगञ्जमा तीन जनामा काेरोना भाइरसको संक्रमण भेटिएपछि पर्सामा सन्त्रास फैलिएकाे छ। अझ बढी संक्रमितहरू बसेका वरिपरि स्थानमा रहेका मानिसहरू त्रासित देखिएका छन्। संक्रमितहरूको कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २४ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू ३७, ५५ र ४४ वर्षीय पुरुष रहेको र अहिले नारायणी अस्पताल, वीरगंजमा आईसोलेशनमा राखिएकाे छ ।
चैत्र १९ गते नेपाल प्रवेश गराएका २४ तवलिगी जमातीहरूमध्ये ३ जनालाई कोरोना संक्रमण भएको पाइएको हो । नेपाल प्रवेश गरेका भारतीयसहितका विदेशी तवलिगी जमातीलाई छपकैया वडा नम्बर २ को मस्जिद र यतिमखानाको मस्जिदमा राखिएको थियो । उनीहरूको अवस्था केही बिग्रिएपछि उनीहरूलाई २७ गते नारायणी अस्पताल लगिएको थियो ।
अस्पतालमा २१ जनाकै स्वाब परीक्षणका लागि नमुना लिएर हेटौँडा पठाइएको थियो । हेटौँडामा परीक्षणका क्रममा ३ जनाको नुमनाको रिपोर्ट पोजेटिभ देखिएपछि पनर्परीक्षणका लागि काठमाडौं पठाइएको हो । काठमाडौंमा गरिएको पुनर्परीक्षणका क्रममा २१ मध्ये ३ जनाको रिपोर्ट पोजेटिभ देखिपछि आएको मन्त्रालयले अधिकारिक फेसबुक पेजबाट जानकारी दिएको हो । मन्त्रालयले पोजेटिभ देखिएको सम्पर्कमा आएका र उनीहरूको पुगेको स्थानको पहिचान गरी कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको जनाएको छ।
संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।
लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।
‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौँ’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’
Leave a Reply