काठमाडौं । दार्चुलाको तुइन प्रकरणको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ। सरकारले छानबिन समितिले बुझाएको प्रतिवेदनलाई आधार मानेर भारतलाई कुटनीतिक नोट पठाएको हो।
यसअघि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले उक्त घटना भारतीय एसएसबीको उपस्थितिमा भएको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा दोषीमाथि छानबिन गरी कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन माग गर्दै भारत सरकारसँग औपचारिकरुपमा संवाद गर्न सरकारलाई आग्रह गरिएको थियो।
सोहीअनुरुप परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक नोट पठाएको मन्त्रालय स्रोतले बताएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई कूटनीतिक पहल थाल्न पनि निर्देशन दिएको छ।
एसएसबीका जवानले तुइनको डोरी काँटिदिँदा दार्चुलाका जयसिंह धामी महाकालीमा बगेका थिए। उनको अवस्था अझै अज्ञात रहेको छ। जयसिंहलाई ड्रोनमार्फत खोजी गर्न भारतले सहयोग पनि गरेको थिएन।
नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे पनि भारत सरकारलाई छुट्टै कुटनीतिक नोट पठाइएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको हो।
भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो। त्यसको पनि चौतर्फी आलोचना भएपछि सरकारले कुटनीतिक पहलकदमी अघि बढाएको हो।
Leave a Reply