Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कसरी गरिन्छ काेराेना भाइरसकाे परीक्षण ?

    कसरी गरिन्छ काेराेना भाइरसकाे परीक्षण ?

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडौँ । कोभिड–१९ संक्रमण पुष्टि गर्न आशंका गरिएका बिरामीको स्वाबको नमुना सुरुवातीताका हङकङ पठाइन्थ्यो । साढे दुई महिनादेखि भने काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिँदै छ। काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न प्रयोगशालामा परीक्षण हुन थालेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेको २४ देखि ७२ घण्टामा नतिजा दिने गरेको छ। बिहीबार मात्रै प्रयोगशालामा ५ सयभन्दा बढीको स्वाब परीक्षणका लागि ल्याइएका छन्। प्रयोगशालाकी प्रमुख डा. रुना झाले यसैका लागि ल्याबमा दिनमा १२ घण्टा आफूहरूले काम गरिरहेको सुनाइन्।



    डा. झाका अनुसार प्रयोगशालामा ल्याइएको स्वाबलाई सुरुमा ‘सर्टिङ’ गरेर विशेष ‘आईडी’ (चिन्ने संकेत) दिइन्छ। बारकोड स्टिकर टाँसेपछि फ्रिजमा राखेर नमुना प्रयोगशालामा पठाइन्छ। त्यहाँ नमुनालाई चार भागमा विभाजन गरेर राखिन्छ। एउटा नमुना बिग्रियो भने प्रयोग गर्न वा अन्य कुनै अनुसन्धानका लागि सुरक्षित राख्न यसरी विभाजन गर्ने गरिएको हो। त्यसपछि नमुनाबाट आरएनए निकालिन्छ। प्रयोगशालालाई एक लटमा आइपुगेका नमुनामा यति काम गर्न २ देखि ३ घण्टासम्म लाग्छ।



    आरएनए निकालेपछि ‘मास्टरमिक्स’ तयार गरिन्छ। यो काममा एक घण्टा समय लाग्छ। मास्टर मिक्सलाई ‘टेम्प्लेट’ सँग राखिन्छ र उक्त नमुनालाई पीसीआर (पोलिमरेज चेन रियाक्सन) गराइन्छ। पीसीआर गराएको केही घण्टापछि नतिजा आउँछ। त्यसपछि नतिजा एन्ट्री गराएर प्रमाणीकरण गराइन्छ।
    डा. झाका अनुसार नतिजाको जानकारी एसएमएसमार्फत दिइन्छ। प्रयोगशालामा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उच्च स्वास्थ्य सुरक्षाका साथ काम गर्ने गरेको पनि डा. झाले जानकारी दिए।

    के हो पीसीआर?
    दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबाट मोलिक्युलर बायोलोजीमा विद्यावारिधि गरेका नास्टका वैज्ञानिक लक्ष्मीप्रसाद थापाका अनुसार पीसीआर एउटा डीएनएबाट त्यसका धेरै कपी बनाउने विधि हो। यो कुनै पनि जिनको काम र रोग पत्ता लगाउन प्रयोग हुन्छ।

    संकलित स्वाबको नमुनामा कोरोना भाइरसको जिन छ कि छैन भनेर पत्ता लगाउन पीसीआर विधि अपनाइएको हो। थापाका अनुसार कोभिड–१९ परीक्षणमा ‘रिर्भस ट्रान्सक्रिप्सन’ (आरटी) पीसीआर’ गरिन्छ। ‘आरएनएबाट डीएनए बनाएर पीसीआर गरिने भएकाले यसलाई आरटी पीसीआर भनिएको हो,’ थापाले भने।

    कोरोना भाइरसमा ‘ओ–आर–एफ–वान–ए’ र ‘ओ–आर–एफ–वान–बी’ जिन, ‘एस’, ‘ई’, ‘एम’, ‘एन’ प्रोटिन भएका जिनहरू पाइन्छ। ती जिनको एउटा प्राइमर बनाइन्छ। प्राइमर संक्रमित व्यक्तिको जिनसँग म्याच गराइन्छ। म्याच गराउँदा मिल्दो देखियो भने नतिजा पोजिटिभ भन्ने हुन्छ।

    क्विक टेस्टिङ किटबाट परीक्षण गर्दा बिरामी मानिसको स्वाबलाई सिधै टेस्टिङ किटमा राखिन्छ। किटमा केही निश्चित रंग बन्यो भने कलरको आधारमा कोरोना पोजिटिभ छ भन्ने पुष्टि हुन्छ। नभए नेगेटिभ।

    जीवाणुबाट एन्टिबायोटिक औषधि पत्ता लगाउने र जेनिटिङ इन्जिनियरिङ गरेर त्यसको परिमाण बढाउने काममा १६ वर्षदेखि अनुसन्धानसमेत गर्दै आएका थापाले भने, ‘पीसीआर प्रयोग गरेर लाखौं जिन भएका डीएनएको सिक्वेन्स (जिनोम) बाट एउटा जिन पहिचान गर्न सजिलो हुन्छ। यसरी कोरोनाका जिनहरूको उपस्थिति भए/नभएको बारे पनि थाहा पाउन यसले सहयोग गर्छ।’

    पीसीआर विधि
    आरएनएलाई इन्जाइमको सहयोगमा डीएनएमा परिवर्तन गराइन्छ। पीसीआरमा डीएनए बनाउन डीएनए पोलिमरेज इन्जाइम प्रयोग हुन्छ। प्राइमरको पग्लने तापक्रमका आधारमा पीसीआरमा तापक्रम बनाइन्छ।
    पीसीआर गर्न प्राइमर चाहिन्छ। प्राइमर भनेको जिनको कुनै एउटा सिक्वेन्स हो। यसमा न्युकिल्योटाइडको सिक्वेन्स हुन्छ। अर्थात् परीक्षण गर्न खोजिएको जीवाणुसँग मिल्दोजुल्दो न्युकिल्योटाइडहरू हुन्छन्। न्युकिल्योडहरूको

    समूह नै ‘जिन’ हो।
    पीसीआरको मिक्सरमा प्राइमर, टेम्प्लेट, डबल डिस्टिल्ड वाटर र डीएनए पोलिमरेज इन्जाइम हालिन्छ। टेम्प्लेट भनेको स्वाबबाट तयार गरिएको डीएनए हो। पीसीआर गरिसकेपछि ‘अगरोज जेल’ हालिन्छ। अगरोज जेल डीएनए कुदाउन प्रयोग गरिन्छ। कुदाएर डीएनए (पीसीआर प्रोडक्ट) छ कि छैन भनेर जाँच गरिन्छ। उक्त प्रोडेक्टलाई माइक्रोस्कोपको सहयोगमा हेर्न सकिन्छ।

    पीसीआर परीक्षण कति विश्वसनीय?
    हाल नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार नै परीक्षण भइरहेको छ। परीक्षणमा सीडीसीको निर्देशिकालाई ख्याल गरिएको जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. झाले बताइन्।

    वैज्ञानिक थापाले पीसीआर परीक्षणमा त्रुटि हुने सम्भावना पनि रहेको बताए। ‘संकलित स्वाबको अवस्था र त्यसमा भाइरसको पर्‍यो कि परेन भन्ने कुराले पनि परीक्षणमा असर पार्न सक्छ,’ उनले भने, ‘डीएनएको कन्सन्ट्रेसन बढी भयो भने पनि जिनहरूको उपस्थित देख्न गाह्रो हुन्छ। पीसीआर गर्दा डीएनएका धेरै त्यान्द्रा हुँदा पनि ठम्याउन गाह्रो हुन्छ।’

    उनले परीक्षणका क्रममा तयार पारिएको प्राइमर बढी ‘कन्सेन्ट्रेड’ भयो भने पनि सही नतिजा आउन नसक्ने उनले बताए। लामो समयसम्म प्राइमर राख्दा पनि समस्या आउने उनले सुनाए। ‘तापक्रमले पनि पीसीआरको नतिजामा फरक पार्छ,’ उनले भने।

    पीसीआर परीक्षणका क्रममा एक पटक पोजिटिभ देखिएको तर दोस्रो पटक नेगेटिभ भएको अवस्थामा प्रक्रिया पुन: दोहोर्‍याउन वा पुन: स्वाब संकलन गरेर परीक्षण गर्न जरुरी हुने थापाले बताए। अहिले नेपाल सरकारले ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीका भरमा स्वाब परीक्षण गराइरहेको छ। परीक्षण सम्बन्धित विषय विज्ञले गर्दा अझ राम्रो नतिजा आउने थापाले दाबी गरे। ‘बायो टेक्नोलोजी र माइक्रो बायोलोजी अध्ययन गरेकासँग सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुने भएकाले त्यस्ता जनशक्ति पीसीआर परीक्षणमा प्रयोग गर्नुपर्छ,’ उनले भने। जनस्वास्थ्य प्रयोगशालामा भने सम्बन्धित विज्ञले नै नतिजा रुजु गर्नेर् गरेका छन्। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार