काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी सिसडोल जाने बाटो तत्काल बनाउन निर्देशन दिएका छन् ।
सोमबार उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका थिए । देउवालाई भेट्न मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको र सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि बताएका थिए ।
‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौं । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयरको भनाइलाई उधृत गर्दै एकजना जनप्रतिनिधिले भने ।
सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।
Leave a Reply