काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरे।
शुक्रवार निधिले शुभारम्भ गरेको सम्पर्क कार्यालयमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेतका सन्तमहन्थहरु सहभागि थिए ।
तर, नेता निधिका धनुषा जिल्लामा सहयोगी रहेका पूर्व मन्त्री महेन्द्र यादव, आनन्द प्रसाद ढुंगाना, रामकृष्ण यादव लगायतका नेताहरुदेखिएनन् । उनीहरुले नै निधिलाई साथ छाडेका छन् ।
नेता निधिले सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा अनुपस्थित रहेका महेन्द्र यादव सो समयमा गृहमन्त्री बालकृष्ण खाँडसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा लबिङ गरिरहेका थिए ।
अर्का नेता रामकृष्ण यादव पनि प्रकाशमान सिंहको चाक्सीबारीस्थिति निवासमा आयोजना गरिएको बैठकमा सहभागि थिए । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ढुंगाना, २ मा रामकृष्ण यादव र ३ मा महेन्द्र यादव प्रतिनिधि सभामा चुनाव लडेका थिए । उनीहरु नेता निधिलाई १४ औं महाधिवेशनमा सहयोग नगर्ने कित्तामा उभिएका छन् ।
काठमाडौंमै रहने गरेका नेताहरु सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा सहभागि नभएपनि धनुषाबाट प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी मन्त्री ओमप्रकाश शर्मा, युवा नेता जीवनाथ चौधरी लगायतका युवा नेता, कार्यकर्ताहरु निधिको कार्यक्रममा सहभागि थिए ।
यता, निधिमाथि केवल बार्गेनिङका लागि मात्र सभापतिको उम्मेद्वार घोषणा गरेको आरोप लागेको छ।
कांग्रेस सभापति शेरवहादुर देउवाको आड भरोसामा उपसभापति बनेपछि एकाएक महत्वकांक्षा पालेका निधिले धेरै लाभको पद लिए। तर, देउवालाई काउन्टर दिने दाबी गरेका निधिको आधार क्षेत्र तराई–मधेस, त्यसमा पनि प्रदेश २ मा देउवा पक्ष नै बलियो देखिएको छ ।
Leave a Reply