काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउने भएको छ । पार्टीका संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएसँगै उक्त कुराको पुष्टि भएको हो ।
आज वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् । उनले भने–‘कार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस् ।’
वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर, संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।
यसका साथसाथै वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर अघि बढ्नुपर्ने शर्माको भनाइ थियो । उनले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिए ।
Leave a Reply