एजेन्सी – क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन्। इटालियन क्लब युभेन्टसबाट फुटबल खेलिरहेका उनी क्लब छाड्ने मनस्थितिमा छन्।
ट्रान्सफर बजारमा हाल उनको चर्चा भइरहेको छ। पोर्चुगिज फरवार्ड रोनाल्डोलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटी इच्छुक देखिएको छ।
रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले केहि दिनयता म्यानचेस्टर सिटीसँग रोनाल्डोको ट्रान्सफरबारे छलफल गरिरहेको बताइएको छ। रोनाल्डोले केहि दिनअघि मात्र लामो संदेश लेख्दै आफ्नो भविष्यबारे अनावश्यक टीकाटिप्पणी नगर्न भनेका थिए। सँगै त्यसको केहि दिनमा युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पनि रोनाल्डो युभेन्टस रहनेमा ढुक्क रहेको बताएका थिए।
रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने सम्भावना नदेखेपछि सिटी जाने सोच बनाएका हुन्। रोनाल्डोका लागि म्यानचेस्टर सिटीले सम्झौतामा इच्छा देखाएपनि ट्रान्सफर रकम तिर्न भने आनाकानी गरिरहेको बुझिएको छ। रोनाल्डोको उमेर अनुसार दुई वर्ष सम्झौता दिने भएपनि युभेन्टसको माग अनुसार ३० मिलियन युरो तिर्न भने सिटीले मानिरहेको छैन। सिटीले भने रोनाल्डो फ्रि ट्रान्सफरमा आउनुपर्ने बताएको छ।
सिटीले लामो समय टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर केनलाई बेच्न टोटेनहम सहमत हुन नसक्दा विकल्पका रुपमा रोनाल्डो अनुबन्ध गर्न लागेको हो। रोनाल्डोलाई फ्री ट्रान्सफरमा भने क्लब आबद्ध गर्न चाहिरहेको छ।
एजेन्ट मेन्डेसले दुवै पक्षलाई खुसी हुने गरि ट्रान्सफरको प्रयास गरिरहेका छन्। रोनाल्डोले च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा पूरा गर्नका लागि नै सिटी आउन चाहेको बुझिएको छ।
युभेन्टसले उनले छोड्न चाहेमा जान दिने भनेपनि ट्रान्सफर रकम ३० मिलियन युरो भने तिर्नुपर्ने बताइरहेको छ। सम्भवतः केही दिनमा नै रोनाल्डोको फुटबल भविष्य निश्चित हुने अनुमान गरिएको छ। किलियन एमबाप्पेलाई बेचेको खण्डमा पिएसजीले रोनाल्डो किन्ने चर्चा पनि चलिरहेको छ। रोनाल्डो पनि लियोनल मेसी जानुअघि नै पेरिस जान इच्छुक देखिएका थिए।
Leave a Reply