Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ओलीको पत्रकार सम्मेलन : सभामुखको चर्को आलोचना, माधव नेपालमाथि प्रहार (सारांश)

    ओलीको पत्रकार सम्मेलन : सभामुखको चर्को आलोचना, माधव नेपालमाथि प्रहार (सारांश)

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गर्न चाहेको आरोप लगाएका छन्।

    एमालेले १४ जना सांसदलाई कारवाही गरेको पत्र सभामुख सापकोटाले अड्काएको भन्दै ओलीले यस्तो बताएका हुन् ।



    बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख सापकोटामाथि खनिएका ओलीले पार्टी फुट्नबाट जोगाउन आफूहरूले १४ जनालाई कारबाही गरेको उल्लेख गर्दै सभामुखले त्यसलाई देखेको नदेखेकै गरेको आरोप लगाए।



    ‘कारबाही सदर गरेको भए सङ्ख्या पुग्दैन थियो र हाम्रो दल पनि फुट्दैन थियो,’ ओलीले भने। ‘सभामुखले निष्पक्षता कायम राख्न सक्नुभएन। उहाँ एमाले फुटाउन सक्रिय हुनुभयो। उहाँले स्थापित मर्यादा र कानुन विपरीत कदम चाल्नु भयो। यो दुखद कुरा हो म त्यसमा खेद व्यक्त गर्न चाहन्छु।’

    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले थपे, ‘सभामुखजीले राजनीति खेल्न खोज्नु भयो, हामीले कारवाही गरेका सांसदहरुलाई पदमुक्त गर्नुपर्ने उहाँले उल्टै विचाराधीन छ भन्नुभयो, यो राम्रो हुँदैन ।’ यसअघिको एक कार्यक्रममा पनि ओलीले सभामुखलाई धम्की स्वरुप सभामुख बनिरहन मन छ कि छैन भन्दै ठाडो हकारेका थिए ।

    यस्तै, सभामुखपछि ओलीको खनिने पालो आयो माधव नेपालतिर र भने, ‘आफ्नो घर जलाउनेले ‘कम्युनिष्ट आन्दोलन एकतावद्ध गर्न सक्दैन’ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका नेता नेपाल नेतृत्वको समूहले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सम्भव नरहेको ओलीको भनाइ थियो।

    ‘घर जलाउने अनि खरानी बेच्ने र शहर बनाउँछु भन्नु फाल्तु कुरा हो। नयाँ पार्टी दर्ता गर्ने अनि एकता गर्छु भन्नु झुट र चटके कुरा हो। एमालेबाट चोइटिएर कम्युनिस्ट एकताको कुरा तपाईँहरू कसरी पत्याउनुहुन्छ ?’ओलीले प्रश्न गरे।

    यस्तै, अध्यक्ष ओलीले माधव नेपालले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका थिए । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ ओलीले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

    ओलीले थपे, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो । यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

    पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न गरिएको भनिएको पत्रकार सम्मेलन पूर्णतया सभामुख सापकोटा र नेता नेपालमाथिको आक्रोशमा लिप्त भएको थियो ।

    यस्तै, कार्यक्रमको फरक प्रसंगमा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण (अध्यक्षबाट राजिनामा) गर्ने बताए। ओलीले कोही पनि निर्विकल्प नहुने भन्दै भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’

    ‘कोही पनि निर्विकल्प हुँदैन, अनुकुल समयमा जिम्मेबारी हस्तान्तरण गर्ने तयारीमा छु, ‘ओलीले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार